नुवाकोट । पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगितामा पञ्चकन्या–३ की एलिसा तामाङ र लिखु–४ का सुदीप राई च्याम्पियन भएका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने घ्याङस्वाँरा पार्कलाई केन्द्रमा राखेर पञ्चकन्या पर्यटन प्रवर्द्धन र युवालाई खेलकुदप्रति आकर्षित गर्न पञ्चकन्या जनकल्याण युवा समाजले शनिबार आयोजना गरेको क्रसकन्ट्री दौडअन्तर्गत महिला ११ किलोमिटर दुरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारिन् । पञ्चकन्या–२ की मेलिना पौडेल १ घन्टा २२ मिनेट २२ सेकेन्डबाट दोस्रो र पञ्चकन्या ५ की सुष्मा कार्की १ घन्टा २४ मिनेट २८ सेकेन्डबाट तेस्रो भएका थिए ।
सोही दुरीको पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गरेर पहिलो स्थान हासिल गरे । पञ्चकन्या ३ का सरिन थापा ४७ मिनेट ३३ सेकेन्डबाट दोस्रो र म्यागाङ गाउँपालिकाका वीरसिंह तामाङ ४९ मिनेट ११ सेकेन्डबाट तेस्रो भएका थिए । पञ्चकन्या ३ का भोजबहादुर कार्की चौथो र बेलकोटगढीका विमल थापामगर पाँचौं स्थानमा आए । महिला र पुरुष दुवैतर्फ विजेताले २२ हजार, दोस्रोले १६ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए । दुवैतर्फ पाँचौं स्थानसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमि दौडमा पञ्चकन्या वडा १ की सविना राईले ३४ मिनेट १३ सेकेन्डबाट छात्रातर्फ स्वर्ण जितिन् । वडा ४ की सवित्री थापा ३४ मिनेट ३१ सेकेन्डबाट दोस्रो र वडा ३ की रुविना तामाङ ३४ मिनेट ४० सेकेन्डबाट तेस्रो भए । वडा ४ की गौरी सुनुवार चौथो र अस्मिता तामाङ पाँचौं भए । सोही दुरीमा छात्रतर्फ किरण तामाङ २३ मिनेट १३ सेकेन्डबाट पहिलो भए । सुरज तामाङ २४ मिनेट २२ सेकेन्डबाट दोस्रो र सुदेश तामाङ २५ मिनेट २६ सेकेन्डबाट तेस्रो भए । वडा ४ का सुदेश तामाङ र युवराज तामाङ क्रमशः चौथो र पाँचौं स्थानमा विजयी भए । शीर्ष तीन स्थानका विजेताले क्रमशः ११ हजार, ७ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाए ।
११ किमि दुरीको दौडमार्ग लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झकडेभित्ता, गाङ्तानटोल, घ्याङस्वाँरा सोही रुट हुँदै घलेभन्ज्याङमा टुंगिएको थियो । भने ५ किमि दुरीको दौडमार्ग लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झिँगानेटोल, झगडेभित्ता सोही रुट हुँदै घलेभन्ज्याङ रहेको थियो ।
प्रतियोगिता समापनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो । ७२ वर्षको उमेरमा पनि दौडका प्रतियोगिताहरूमा सहभागी भएर युवालाई दौडमा लाग्न प्रेरित गरिरहेकाले उनको खेलप्रतिको समर्पणको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष टीकाराम तामाङले बताउनुभयो । प्रतियोगिताको उद्घाटन गर्नुका साथै विजेतालाई प्रमुख अतिथि पूर्वमन्त्री तथा नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित हितबहादुर तामाङ, संघीय सांसद विमला सुवेदी, श्रीकृष्णप्रसाद अधिकारी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसी पाठक लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा रहेको थियो ।
त्यसअघि बिहान करिब पौने ९ बजे पञ्चकन्या गाउँपालिकाको केन्द्र लाकुरीभन्ज्याङबाट प्रमुख अतिथि तामाङले रिवन काटेर दौड आरम्भ गराउनुभएको थियो । त्यसक्रममा वाग्मती प्रदेशसभाकी सांसद राधिका तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलायतको समेत सहभागिता थियो ।