काठमाडौं । ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज सेवाले सोनाम ल्होछार मनाएको छ । शनिबार बृहत् कार्यक्रम आयोजना गरी काठमाडौं गोकर्णको जगडोलमा २८६० सोनाम ल्होछार मनाइएको हो।
ल्होछार कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले अहिलेको संविधान सबै जातको लागि उपयुक्त रहेको भन्दै ल्होछारले एकता र मेलमिलापको सन्देश दिन सफल भएको बताउनुभयो ।
ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका सांसद बाबुराम गौतमले बुद्ध नेपालको माटोमा जन्मिएकोले बुद्ध धर्मको पहिचान र ल्होछारलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष अशोक सिङ्तानले ओखलढुङ्गाका काठमाडौं बसोबास गरिरहेका नयाँ पुस्ताले भाषा बिर्संदै गएको अवस्थामा ल्होछार कार्यक्रम आपसी मेलमिलाप र भाषा‚ संस्कृतिको बारेमा जानकारी दिनका लागि यो कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका सांसद बाबुराम गौतम‚ वाग्मती प्रदेशका सांसद छिरिङदोर्जे तामाङ‚ गोकर्णेश्वर नगरप्रमुख दीपक रिसाल लगायतलाई विभिन्न संघ संस्थाका व्यक्ति तथा तामाङ समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा ओखलढुङ्गाको तामाङ पहिचान झल्किने भेषभुषा र डम्फु नाचले कार्यक्रम पृथक बनाइएको थियो ।
“ल्हो”को अर्थ साल, सम्वत् वा वर्ष हो र “छार”को अर्थ नयाँ हो । अर्थात् ल्होछारको अर्थ “नयाँ वर्ष” हो । तामाङहरु ल्हो लाई वर्ग पनि भन्दछन् । ल्हो बाह्रवटा हुन्छन् अर्थात् यसलाई ‘ल्होखोर च्युङी’ भनिन्छ ।
विभिन्न पशुपंक्षीको नामवाट “ल्हो”को नाम राखिएको हुन्छ । बाह्र “ल्हो”मध्ये प्रत्येक वर्ष एक–एकवटा “ल्हो” फेरिन्छ । यही “ल्हो” फेरिने दिनलाई तामाङ भाषामा “ल्होछार” भनिन्छ । यो पर्व तामाङहरुले आफ्नो धार्मिक एवं साँस्कृतिक परम्परा अनुसार लगातार १५ दिनसम्म नै मनाउँदछन् । संसारभर खास गरेर मंगोल मूलका देशहरुमा यसैदिनदेखि “ल्होछार” पर्व वडा हर्षोल्लासकासाथ धुमधामले मनाइन्छ ।