सिन्धुली । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा सिन्धुलीका जिल्लाका ९ वटा स्थानीय तहमध्ये दुधौली नगरपालिका पहिलो र मरिण गाउँपालिकाले तेस्रो स्थान ओगट्न सफल भएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार दुधौलीले ४७.४५ अंक प्राप्त गरी जिल्लाका स्थानीय तहहरुमध्येमा पहिलो बनेको हो । मरिण गाउँपालिकाले ३८.६८ अंक प्राप्त गरी तेस्रो हुँदा दोस्रो स्थानमा रहेको फिक्कल गाउँपालिकाले ३९.४८ अंक पाएको छ ।
यस्तै ३३.९८ अंक प्राप्त गरी हरिहरगढी गाउँपालिका चौथो, कमलामाई नगरपालिका ३१.७७ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।
यसैगरी सुनकोशी गाउँपालिकाको २७.९ अंक, घ्याङलेख गाउँपालिका २४.३०, तीनपाटन गाउँपालिका २३.३४ र गोलन्जोर गाउँपालिकाले २२.९६ अंक पाएको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय-व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मूल्यांकन गरिएको छ ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा-८ को तुलनामा कक्षा-९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।