काठमाण्डौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत आवस्यक भएको सूचना आइतबार प्रदेशसभामा दर्ता गराउनुभएको छ ।
प्रदेशसभा नियमावली अनुसार मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन चाहेको सूचना छलफल हुनुभन्दा दुई दिनअघि संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान रहेको छ।
सोही अनुसार कात्तिक ३० अर्थात मंगलबार सदनबाट विश्वासको मत लिने तयारीका लागि आज संसदमा सूचना पठाइएको हो ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो।
पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।
विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा सरकार रहेको छ। भागवण्डा मिलाउन मन्त्रालय फुटाउने तयारीमा सत्ता गठबन्धन लागेको छ।
पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ। गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्।
मुख्य विपक्षी एमालेसँग ४१ सांसद रहेका छन् तर मत संख्या भने ३९ मात्रै हुन्छ। त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत पाउने अवस्था छ।