कास्की । नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर समितिले सोनाम ल्होछारको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्जुश्री सम्वत् २८६० औं डुक÷मु पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा शुभकामना आदान प्रदानका साथै मिस तामाङ पोखरा–२०२४ लाई सम्मान गर्नुका साथै उद्घोषण कला तालिम पनि सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेश सभाका सदस्य पार्वती थिङ तामाङले तामाङ जाती धर्म वा राजनीतिका नाममा विखण्डित हुन नहुने भन्दै आफ्नो पहिचान र अस्तित्व रक्षाका निम्ति सङ्गठित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका महिला उपाध्यक्ष ऋतु थोकर तामाङ, नेपाल आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङ, पोखरा महानगरपालिका वडा नं.१३ का महिला सदस्य सुचिता स्याङ्बो तामाङ, नेवा मिस पुच कास्कीका अध्यक्ष संगीता बज्राचार्य, मिस तामाङ पोखरा – २०२४ का विजेता रोशिला ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका कोषाध्यक्ष जसपाल पाख्रीन तामाङले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मिस तामाङ पोखरा–२०२४ का विजेता रोशिला ब्लोन तामाङ, फस्ट रनरअप मोनिका पाख्रीन तामाङ, सेकेन्ड रनरअप वर्षा गोले तामाङ र भ्युअर्स च्वाइस अर्पणा डुम्जन तामाङलाई मायाको चिनो द्वारा बधाई ज्ञापन एवं सम्मान गरिएको थियो ।
उद्घोषण कला तालिम कार्यक्रमलाई सहजीकरण गर्दै गोर्खाली एफ.एम.का स्टेशन म्यानेजर तथा फोनिज गण्डकीका उपाध्यक्ष खिमा गुरुङले दोस्रो सेसनलाई अगाडि बढाउनुभएको थियो ।
विभिन्न तामाङ इकाई समितिबाट महिला दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको उद्घोषण तालिममा सहभागी भइ बोल्ने कलाको सीप, संस्था सञ्चालनका ज्ञान तथा पदीय जिम्मेवारीका बारेमा जानकारी गराइएको थियो ।