काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र तामाङ बौद्ध सेवा समितिको व्यवस्थापनमा “नेतृत्व विकासका लागि सकरात्मक सोच” प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । के बोल्ने भन्ने कुरा महत्वपूर्ण होइन कसरी बोल्ने ? कसरी खाने, कसरी हिँड्ने, कसरी बाच्ने भन्ने कुरा प्रमुख आवश्यकता हो ।
यि महत्वपूर्ण कुराहरुको ज्ञान नहुँदा अन्य क्षमता हामी संग हुँदा हुँदा पनि एउटा बोल्ने कला नहुँदा धेरै पछि परिरहेको हुन्छ । तपाईसंग शैक्षिक योग्यता छ, अन्य सीप र कला छ भने त्यसमा बोल्ने कला एउटा थप्न अत्यन्त जरुरत छ । तपाइको आफ्नो क्षेत्रमा जस्तै डाक्टर, पाइलट, शिक्षक, राजनिती, सामाजिक, धार्मिक जुनसुकै क्षेत्रमा भएता पनि असल नेतृत्वका लागि सकरात्मक सोचका साथ उत्कृष्ट पब्लिक स्पिकङको ज्ञान हुनु आवश्यक भएको कार्यक्रमका प्रमुख प्रशिक्षक विकास देव योञ्जनले बताउनुभएको थियो ।
कार्यक्रमको दीप प्रज्वलन गरि फ्याफुल्ला विकल्प महिला सहकारीका अध्यक्ष विष्णु योञ्जन तामाङले उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा सल्लाहकार कुम बहादुर योञ्जन तामाङ, राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङ, तमु प्हे ल्हु संघ केन्द्रिय युवा समितिका पूर्व महासचिव पवित्रा गुरुड, साथै कोको म्हेन्दो साहित्य समाज पोखराका सदस्य मनसुवा स्याङ्बो तामाङले मन्तव्य राख्नुभएको थियो भने सहभागीहरूले उक्त प्रशिक्षणबाट अत्यन्तै सकरात्मक उर्जा थपिएको महसुस भएको अनुभव व्यक्त गर्नुभएको थियो।
सहकारीका शेयर सदस्य साथै तामाङ बौद्ध सेवा समितिका पारिवारिक सदस्यहरु र इच्छुक अन्य संघ संस्थाका व्यक्तिहरूको बाक्लो उपस्थिती विच सम्पन्न कार्यक्रममा उपाध्यक्ष शान्ती तामाङको स्वागत मन्तव्य, सचिव पवित्रा थोकर तामाङको संचालन साथै सभाध्यक्ष विष्णु योञ्जन तामाङले धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।