काठमाडौं,रासस । सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुव्र्यवहार र चोरी नियन्त्रणमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’ लाई तीव्रता दिएको छ ।
सर्वसाधारणबाट सार्वजनिकस्थलमै यौन दुव्र्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाई रोक्न सूक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले उक्त अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाउँदै आएको छ ।
उपत्यकाका विभिन्न क्षेत्रमा आठवटा टोलीले अहिले निगरानी गरिरहेको र उक्त अभियानले सकारात्मक नतिजा दिइरहेको उपत्यका प्रहरीले जनाएको छ । अभियानअन्तर्गत चालु आर्थिक वर्षमा मात्रै एक हजार आठ सयजनालाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुमध्ये एक सय ७८ जनामाथि भने मुद्दा नै चलाइएको र बाँकी एक हजार छ सयभन्दा बढीलाई अब त्यस्तो व्यवहार प्रदर्शन नगर्ने सर्तमा परिवारको जिम्मा लगाएर छाडिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताउनुभयो ।
उहाँले यो अभियान प्रहरीले २०७४ देखि नै सुरु गरेको र २०७७ देखि भने कार्ययोजना नै स्वीकृत गरी अभियान जारी रहेको जानकारी दिनुभयो । उपत्यका प्रहरीले महिला बालबालिकाको मानसिक तथा अमर्यादित क्रियाकलापमा पीडित र साक्षी मौन बस्ने गरेको देखिएको र विभिन्न पार्क, सार्वजनिकस्थल, मनोरञ्जनात्मक स्थल, सेवा प्रवाह हुने ठाउँ, कार्यालय वा जमघट हुने स्थानमा यौनजन्य दुव्र्यवहार बढी हुने पाइएकाले त्यस्ता गतिविधि र अन्य आपराधिक क्रियाकलाप रोक्न उक्त अभियान थालेको हो ।
साथै अपराधीलाई कानुनी कारबाही गर्न, सार्वजनिक स्थान र सार्वजनिक यातायातमा महिला बालबालिकामाथि हुने यौनजन्य दुव्र्यवहारका घटनाबारे खुलेर आवाज उठाउनसक्ने बनाउन तथा पीडकलाई कानुनी कारबाही गर्ने उद्देश्यले उक्त अभियान थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली बताउनुहुन्छ ।
उहाँले उक्त अभियानले सकारात्मक प्रभाव परिरहेको र अझै प्रभावकारी बनाउने योजनाका साथ प्रहरी लागेको बताउनुभयो । यसका लागि आठ टोली बनाएर उनीहरुलाई सादा पोसाकमा परिचालन गर्ने गरिएको छ । टोली आफ्नो तोकिएको क्षेत्रमा सूक्ष्म निगरानी गरी त्यस्ता गतिविधि गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्ने र कारबाहीको दायरामा ल्याउन सक्रिय भइरहेका छन् । अहिले बढी भीडभाड हुने समय बिहान ८ देखि मध्याह्न १२ र अपराह्न ३ देखि साँझ ७ बजेसम्म टोली परिचालिन हुनेछ ।