काठमाडौं । सिन्धुलीको मरिण, हरिहरपुरगढी गाउँपालिका र काभ्रेको महाभारत गाउँपालिका बिच अन्तरपालिका स्तरीय बैठक सम्पन्न भएको छ । फागुन ३० गते बुधबार महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको अध्यक्षतामा बसेको बैठकले विद्युत विस्तारबारे दुई विषयमा निर्णय गरिएको छ ।
मरिण गाउँपालिकाको वडा नं. २ दोभान, भोक्टेनी, लामीबगर, वडा नं १ को बाघपैल साथै सोको आसपासको वस्तिमा र हरिहरपुरगढीको वडा नं १ अन्तर्गतको दुबि गोरन, कोक्टी, सलिघाट, डाबुर, तिनतले साथै सोको आसपासको बस्तीमा बिजुली बत्तिको विस्तार गर्ने सन्दर्भमा छलफल भएको छ ।
साथै छलफलले मरिणको उल्लेखित क्षेत्रमा महाभारत गाउँपालिकाको काभ्रेको वडा नं. ६ बाट ११ के.भि विद्युत लाइन टेपिङ्ग गरी काभ्रे–रामेछाप–सिन्धुली पूर्व विद्युतिकरण आयोजनाबाट सम्भव भएसम्म विद्युत लाइन विस्तार गर्नुका साथै अन्य छुटपुट नपुग ठाउँहरूमा लाइन विस्तार कार्य सिन्धुली र काभ्रे विद्युत के. ले समन्वय गरी आवश्यकता अनुसार अघि बढ्ने निर्णय भएको जनाएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको लाइन बिस्तार कार्यको लागि काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ बाट पायक पर्ने, सिन्धुली वितरण केन्द्रबाट धेरै टाढा रहेको साथै आर्थिक तथा दीर्घकालीन रुपमा वितरण लाइन संकलन गर्न असहज हुने ठाउँहरूमा काभ्रे वितरण केन्द्र अन्तरगत महाभारत नोलाइट बाट हेर्ने गरी काभ्रे विद्युत केन्द्रमा ग्राहक कायम हुने गरी सिन्धुली र काभ्रे विद्युत केन्द्रले समन्वय गरी महाभारत गाउँपालिकाको कार्यक्रमबाट बढी भएको, पोल तार प्रयोग गरी विद्युतीकरण गर्ने निर्णय गरिएको छ ।
बैठकमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान, काभ्रे मकवानपुर रामेछाप सिन्धुली ग्रामीण विद्युतकरण आयोजना प्रमुख खिलनाथ अर्याल, काभ्रे वितरण केन्द्रका इन्जिनियर सुरोज पराजुली, सिन्धुली वितरण केन्द्रका प्रमुख शिशिर लम्साल, हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, महाभारत गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख हरि सिंह विष्ट, सोही गाउँपालिकाका वडा नं. ६ का वडा अध्यक्ष रमेश कुमार लुङ्गेली, मरिण गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष कमल आले, हरिहरपुरगढीका इन्जिनियर भिष्मदिव सुनुवार, काभ्रे वितरण केन्द्रका प्रमुख अमृत बाबु अधिकारी र हरिहरपुरगढी गाउँपालिकाका भूमि सुधार तथा योजना शाखा प्रमुख राजु कुमार उप्रेतीको उपस्थिति रहेको थियो ।