काठमाडौं । बाह्रौं जनगणना जारी भइरहेको क्रममा विभिन्न ठाउँहरूमा गणकहरूले प्रश्नावली मनपरी सोधेको भन्दै आदिवासी जनजातिहरूले तथ्याङ्क विभागलाई ध्यानाकर्षण गराएको छ । सोमबार विभागको कार्यलय पुगेर आदिवासी जनजातीका संगठनहरूले ध्यानाकर्षण गराइएको हो ।
विभागको महानिर्देशक नेबिनलाल श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ, लिम्बू, तामाङ, नेवार, मगर, गुरूङ, शेर्पा, थामीलगायत संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूले गणना भइरहेको त्रुटी र असंवेदनशीलताबारे पाँचौ दिनमा ध्यानाकर्षण गराइएको हो ।
गणना भइरहेको समयमा विभिन्न तवरले खबरदारी र सहयोग गरिरहँदा पनि तथ्याङ्क विभाग र यसका संयन्त्रहरूले भरपर्दाे र विश्वासनीय कार्य नभइरहेको प्रति आदिवासी जनजाती प्रतिनिधिहरुले आपत्ति जनाउनु भएको छ । जात÷जाति, पूर्खाको भाषा, मातृभाषा, दोश्रो भाषा, धर्मसँग सम्बन्धित महत्वपूर्ण प्रश्नहरूमा हेलचक्राइपूर्वक सोधिएको देशका विभित्र ठाउँहरूबाट जानकारी आएकोेले अविलम्ब सच्याउन आग्रह गरिएको हो ।
धर्म र भाषाको उत्तरहरू गणकहरू आफैले भरिदिएको जानकारी आएकोेले यसो नगर्न निर्देशन दिनसमेत आदिवासीका प्रतिनिधिहरुले विभागका महानिर्देशकलाई आग्रह गर्नुभएको हो । ध्यानाकर्षण कार्यक्रममा जनगणनालाई तथ्यपरक र यथार्थपरक बनाउन चासोसहित ध्यानाकर्षण गराएकोमा महानिर्देशक श्रेष्ठले आभार प्रकट गर्नुभयो ।
भेटघाटमा महानिर्देशक श्रेष्ठले भन्नुभयो “उत्तरदाता भगवान हुन्, उनीहरूले जे भन्छन् गणकले सोहीअनुसार भर्नुपर्छ, दायाँबायाँ जे पायो त्यही गर्न मिल्दैन, जनगणनाको निर्देशिकाले त्यही निर्देश गरेको छ । हामीले पनि त्यही भनेका छौं ।”
यस्तै श्रेष्ठले “गणकलाई कतिपय विषयमा प्रयाप्त ज्ञान नहुँदा कहीँकतै त्रुटी भएको हुन सक्छ, नियतवश हो भन्ने लाग्दैन, प्रश्नावलीमा भएका प्रश्नहरूबाहेक अन्यथा नसोधी जे छ सो सोध्न र उत्तरदाताले जे भन्छन् हुबहु उता बारम्बार भनिरहेका छौं र तपाईंहरूले ध्यानाकर्षण गराएपछि हाम्रो संयन्त्रमार्फत थप सजग बनाउँछौं ।”
नागरिकको पहिचानको सवालदेखि देशको योजना, कार्यक्रमको खाका कोर्ने आधार नै तथ्याङ्क भएकोले जनगणना हुँदै गर्दा भइरहेको त्रुटी, असंवेदनशीलता र लापरबाही समयमै नसुध्रिएमा तथ्याङ्क प्रक्रियालाई समेत महानिर्देशक समक्ष जनजाति प्रतिनिधिहरूले अस्वीकार गरिने चेतावनी दिएका छन् ।
आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, संस्थापक प्रमुख तथा सल्लाहकार सुरेश आले मगर, उपाध्यक्ष गोबिन्द छन्त्याल, कार्यवाहक महासचिव सुखवीर थामी ध्यानाकर्षण कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । साथै आदिवासी जनजाति संगठनका अध्यक्ष तथा पदाधिकारी प्रतिनिधिहरू नरेश ताम्राकार, मोहन गोले तामाङ, रेशम गुरूङ, योगराज वनेम लिम्बू, ग्याल्जेन शेर्पा, ज्ञानेन्द्र पुन मगर, मञ्जु थापा मगर, गंगा छन्त्याल, जमुना तामाङ, दावा शेर्पा, बाबु घिसिङ, प्रेम येक्तेन लिम्बूलगायतका व्यक्तिहरु आयोग पुग्नु भएको थियो ।