घलेभन्ज्याङ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ३ र ४ को सीमामा पर्ने घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्कमा शनिबार र आइतबार भूमेस्थान मेला लाग्दैछ । हरेक वर्ष फागु पूर्णिमाको अवसरमा लाग्ने भूमेस्थान मेला यस वर्ष शनिबार सुरु भई आइतबार समापन हुने भएको हो ।
मेला व्यवस्थापनका लागि स्थानीय बुद्धिबहादुर तामाङको अध्यक्षतामा घ्याङस्वाँरा भूमेस्थान मेला व्यवस्थापन समिति बनाएर तयारी अघि बढाइएको पञ्चकन्या - ४ का निर्वाचित अध्यक्ष सञ्च तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार तोरण टाँग्ने, झन्डा गाड्नेलगायत सजिसजाउ, झाँक्री (बोन्बो) व्यवस्थापनलगायत विभिन्न तयारी भइरहेको छ ।
परापूर्वकालदेखि नै फागु पूर्णिमाको अवसरमा लाग्ने भूमेस्थान मेलाको प्रमुख आकर्षण झाँक्री नाच रहेको छ । यसपटक पनि दुप्चेश्वर गाउँपालिकाको काम्चोक, शिवपुरी गाउँपालिकाको गारे, पञ्चकन्याका थप्रेक, कुलकुले, आरुखर्क, घलेगाउँ र बोकेडाँडाका झाँक्री टोलीलाई निमन्त्रणा गरिएको वडाध्यक्ष तामाङले बताउनुभएको छ ।
त्यस्तै तामाङ समुदायमा प्रचलित डम्फू, लोकदोहोरीलगायत साँस्कृतिक कार्यक्रमसमेत हुनेछन् । पहिलो दिन शनिबार बिहानैदेखि मेलास्थलमा जमघट हुने, बेलुकी मौलिक भेषभूषामा सजिएका बोन्बो (झाँक्रीहरु) जम्मा हुने, भूमेथानको दर्शनपछि रातभर ठूलो चौरमा बस्ने । देवता पुकार्ने । सेवा गर्ने । भोलिपल्ट (आइतबार) बिहान मन्दिरमा पूजाआजा गर्ने चलन छ । भूमेथानमा बलि चढाउने प्रथा छैन । जहाँ धूपअक्षेता, दूध र फुल चढाउने गरिन्छ ।
खेतीपातीको मौसम वा लामो खडेरी परेमा स्थानीय झाँक्रीको नेतृत्वमा भूमेथानलाई पानी माग्ने (जलधारा) गर्ने चलन छ । भूमेथानलाई पुकारेपछि झाँक्रीले भविष्यवाणी गरेअनुसार नै पानी पर्ने गरेको जनविश्वास रहेको वडाध्यक्ष तामाङले जनाउनुभयो । गत वर्षहरुमा ४/५ हजार दर्शनार्थी हुने भूमेथान मेलामा यसपटक घ्याङस्वाँरा पर्यटकीय पार्कको आकर्षणले गर्दा दुई दिनमा १५/२० हजारले मेला भर्ने अनुमान गरिएको छ ।
वडाध्यक्ष तामाङले भन्नुभयो, '१५/२० हजारले मेला अवलोकन गर्ने अनुमान छ । तर पानी परेमा अलि असर पर्न सक्छ ।'
वडाध्यक्ष तामाङका अनुसार मेलास्थल सजावटलगायत तयारीमा १ लाखदेखि १ लाख ५० हजार रूपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । अहिले स्थानीय देश, विदेशमा रहेकाहरुबाट चन्दा संकलन गरिएको र स्थानीय सरकार पञ्चकन्या गाउँपालिकाले समेत खर्च उपलब्ध गराउने प्रतिबद्धता गरेको जनाइएको छ ।
घ्याङ्स्वाँरा पार्कलाई प्रचारप्रसार गर्ने, देश, विदेशबाट पर्यटक भित्र्याउने हिसाबले भूमेस्थान मेलालाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।
मेला व्यवस्थापन समितिले फागु (होली) मेलामा आ-आफ्नो कला र संस्कृति झल्किने खालको मादल, घाँसे डाम्फूसहित उपस्थित हुन पञ्चकन्या गाउँपालिका र आसपासका पालिकाका दाजुभाइ तथा दिदीबहिनीहरुमा निमन्त्रणा गरेको छ ।