काठमाडौं । विशेषत: राजनीतिक दल र तिनका नेताहरुले विकास र समृद्धिको ठूला ठूला आश्वासन दिने गरेका छन् । जनप्रतिनिधिहरु र सरकारमा पुगेका दलहरुले विभिन्न बहाना बनाएर मुलुकको विकास नगरी कयौं वर्ष खेरा फाले । तर केही विकासका काम नभएका भने होइनन् । जब मुलुकमा संघीय व्यवस्था लागू भयो तब जनप्रतिनिधिहरु वा सरकार नागरिक र देशप्रति जिम्मेवार हुनुपर्ने अवस्था सिर्जना गराएको छ ।
नागरिकको चेतनास्तर उठ्नु र स्थानीय सरकार गाउँ-गाउँमा रहेकाले त्यहाँका जनप्रतिनिधि नागरिक सँगसँगै रहनु पर्ने र आफ्नै सुविधाका लागि भने पनि सडक यातायातलगायत पूर्वाधार निर्माण गर्नुपर्ने अवस्थामा छन् । सँगै प्रधानमन्त्री, मन्त्री वा जनप्रतिनिधिले दिएका आश्वासन पूरा नभए नागरिकले बाटो छेक्ने, कतिपय ठाउँमा आक्रोशित हुँदै कठालो समाउने जस्ता व्यवहार देखाइएका छन् । त्यही माथि ठेक्का लिन समयमा पूरा नगरी अलपत्र पार्ने ठेकेदारहरुको फोटो सार्वजनिक ठाउँमा झुन्डाएर विरोधका शैली अपनाएको पाइएको छ । ग्लोबल मिडियाले त्यस्ता केही घटना समेट्ने प्रयास गरेको छ ।
घटना १ -
२८ कात्तिक २०७८ मा भक्तपुरको कमलविनायक–नगरकोट पीडित जनताले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बीच सडकमै रोके । आठ वर्षदेखि सडक नबनेर दैनिक सास्ती व्यहोरिरहेका स्थानीयले आइतबार दिउँसो मन्त्री यादवको टोलीलाई नगरकोट सडक खण्डअन्तर्गत तेलकोटमा रोकेका हुन् । सडकको निरीक्षणपछि फर्कँदै गरेको थाहा पाएपछि स्थानीय सडकमा भेला भएका थिए ।
सडक नबनेर हैरानी खेपिरहेका कमल विनायक–नगरकोट सडक निर्माण दबाब समितिका राजकुमार लामिछानेले मन्त्रीको ध्यानाकर्षणका लागि गाडी रोकेको बताउनुभएको थियो । मन्त्रीको टोलीले स्थानीयको कुरा नसुनी भागेपछि पीडित सडकमै थ्याच्च बसेका थिए । पीडित मध्येका लामिछानेले आठ वर्षमा पनि सडक नबनेको बताउँदै आठ वर्षदेखि हिलो र धूलो खाइरहेको बताउनुभयो । उनले समयमै सडक नबन्दा सडक दुर्घटना समेत भएको बताउनुभयो । करिब आधा घन्टा मन्त्री यादव सडकमै स्थानीयको घेरामा पर्नुभएको थियो । क्रममा मन्त्री यादवले सडक निर्माणका लागि स्थानीयले देखाएको चासोको प्रशंसा गर्नुभयो । सोही क्रममा उहाँले दुई महिनाभित्र सडक बनिसक्ने आश्वासन दिनुभयो ।
घटना २ -
भदौ दोस्रो साता । दोलखाको मेलुङ गाउँपालिकामा बिरामी लिएर हिँडेको एम्बुलेन्स हिलो बाटोका कारण गन्तव्यमा पुग्न असहज हुने स्थिति आएपछि सर्वसाधारणले गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई फोन गरेर तत्काल बाटो सफा गराउनका लागि डोजर पठाइदिन अनुरोध गरे । तर, अध्यक्ष श्रेष्ठले आफू गाउँमा नभएको र चरिकोटतिर रहेको फोनमै बताउनुभयो ।
अन्य उपाय नभएपछि सर्वसाधारल एम्बुलेन्सबाट बिरामी झारेर स्ट्रेचरमा बोकेरै अस्पताल लैजान हिँडे । तर, चरिकोटमा छु भनेका अध्यक्ष टुप्लुक्कै त्यही भेटिए । अनि त जनताका लागि जिताएर जनप्रतिनिधि बनाएर पठाएका सर्वसाधारणहरु रिसले मुर्मुरिए अनि बाटोमै अध्यक्ष श्रेष्ठको कठालो समाए ।
घटना ३ -
दोलखा : खाडीचौर–चरिकोट सडक अन्तर्गत मुडे–चरिकोट सडकखण्डको स्तरोन्नतीमा बेवास्ता गर्ने ठेकेदारको फोटो सार्वजनिक सवारी साधनमा टाँसी विरोध गर्न सुरु गरिएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले चार वर्ष बितिसक्दा पनि कालोपत्रे नगरेकोले ठेकेदारलाई नैतिक दबाव दिन दोलखा जिल्लाका स्थानीयले सार्वजनिक तथा निजी सवारी साधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसी विरोध गर्न गरेका हुन् ।
स्थानीयले स्वस्फूर्त खर्च संकलन गरेर काम नगर्ने ठेकेदारलाई सबैले चिनुन् र थप नैतिक दबाव परेर सडक निर्माणमा चासो राखुन् भन्ने उद्देश्यले ठेकेदार कम्पनीका मालिकको फोटो टाँसी विरोध गरेका हुन् ।
शंकरमाली निर्माण सेवाका प्रोप्राइटर दिपक सापकोटाको फोटोसहितको ब्यानरमा ‘कालोपत्रे सहितको बाटो कहिले बन्छ ? चार वर्षसम्म बाटो किन बनेन ?’ भनेर प्रश्न गरिएको नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए। उद्योग वाणिज्य संघ, होटल व्यवसायी, पर्यटन व्यवसायी, फेन्सी संघ, इलेक्ट्रिक संघ लगायतका संघले अरनिको यातायात, रोल्वालिङ यातायात तथा निजी सवारी साधनमा विरोध स्वरुप फोटो टाँसेका हुन्।
घटना ४ -
२०७६ वैशाख अन्तिम साता । चाबहिल–बौद्ध–जोरपाटी सडकखण्ड छिट्टै पिच गर्न माग गर्दै व्यापारी र स्थानीय बासिन्दाले आन्दोलन गरे । सडक पिच नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका थिए । उनीहरुले समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारबाही गर्नुपर्ने मागसमेत गरे ।
स्थानीय बासिन्दा र व्यापारीले ‘धुलो धुवाँ धेरै भो, कालो पत्र छिटो गर’ ‘विश्व सम्पदाको संरक्षण गर’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर सडकखण्डमा प्रदर्शन गरेका थिए । लामो समयदेखि सडक मर्मत चावहिल–बौद्ध–जोरपाटी सडकमा हिँड्डुल गर्न समस्या । यो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलाम्मे हुने समस्या थियो । अहिले सुधार देखिएको छ ।
घटना ५ -
२०७६ कात्तिक अन्तिम साता । दोलखाको खाडीचौर–चरिकोट सडकअन्तर्गत मुडे–चरिकोट सडकखण्डको स्तरोन्नतीमा बेवास्ता गर्ने ठेकेदारको फोटो सार्वजनिक सवारी साधनमा टाँसी विरोध गरियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले चार वर्ष बितिसक्दा पनि कालोपत्रे नगरेकोले ठेकेदारलाई नैतिक दबाव दिन दोलखा जिल्लाका स्थानीयले सार्वजनिक तथा निजी सवारी साधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसी विरोध गर्न गरे । स्थानीयले स्वस्फूर्त खर्च संकलन गरेर काम नगर्ने ठेकेदारलाई सबैले चिनुन् र थप नैतिक दबाव परेर सडक निर्माणमा चासो राखुन् भन्ने उद्देश्यले ठेकेदार कम्पनीका मालिकको फोटो टाँसी विरोध गरेका थिए ।
शंकरमाली निर्माण सेवाका प्रोप्राइटर दिपक सापकोटाको फोटोसहितको ब्यानरमा ‘कालोपत्रे सहितको बाटो कहिले बन्छ ? चार वर्षसम्म बाटो किन बनेन ?’ भनेर प्रश्न गरिएको नागरिक अगुवा चिरञ्जीवी मास्केले बताउनुभएको थियो ।
घटना ६ -
२०७६ मंसिर दोस्रो साता । वीरगन्ज सुक्खा बन्दरगाह विस्तारको प्रस्तावित योजनाका लागि हटाउन लागिएको पर्साका सिर्सिया गाउँका बासिन्दाले यथाशीघ्र निकास माग्दै आन्दोलन गरेका छ न्। सिंगै गाउँको जग्गा–जमिन करिब तीन वर्षदेखि रोक्का थियो । उक्त रोक्काले गर्दा गाउँका करिब ६५ घरधुरी बिचल्लीमा परेको भन्दै स्थानीयले सिर्सिया सुक्खा बन्दरगाहको मुख्य ढोकाअगाडि चक्का जाम गर्दै दुई घन्टा धर्ना दिए ।
घटना ७ -
२०७६ कात्तिक पहिलो साता । भूमाफियाले व्यक्तिगत सम्पत्तिसरह प्रयोग गर्दै आएको सार्वजनिक जग्गा खाली नभएपछि स्थानीयवासीले विरोध प्रर्दशन गरे । खुलामञ्च र रत्नपार्कको बीचमा रहेको दुईमाजु गुठी मन्दिरको एक रोपनीभन्दा बढी जग्गा गैरकानुनी रुपमा भाडामा लगाएको प्रमाणित भए पनि सरोकारवालाले जग्गा खाली गराएको छैन । त्यसको विरोधमा स्थानीयवासीले ‘दुईमाजु गुठी दोहन गर्न बन्द गर, तत्काल व्यापारिक सम्झौता रद्द गर’ भन्दै बुधबार विरोध प्रदर्शन गरे । काठमाडौं महानगरपालिका वडा नम्बर २८ का एक नागरिक सुशन वैद्यले गुठी संस्थानसँग जग्गा भाडामा लिएकी अमृता भट्टराईले नै सम्झौता खारेज गर्न माग राखेर निवेदन दिइसक्दा पनि मन्दिर परिसर खाली नभएपछि प्रदर्शन गर्नुपरेको बताउनुभएको थियो ।
(यी सामग्री विभिन्न नेपाली अनलाइन मिडियाको सहयोगमा तयार पारिएको हो)