नुवाकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले होमस्टे (घरबास) संचालन गरेर गाउँलाई नै आर्थिक रुपले आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ ।
तारा गाउँ विकास समितिद्वारारा आयोजित वाग्मती प्रदेश होमस्टे (घरबास) कार्यशाला गोष्ठी–२०८१ को शनिबार ककनीमा उद्घाटनका क्रममा मन्त्री तामाङले होमस्टेले छरिएरका नेपाली समाजको मौलिक संस्कृति, परम्परा, कलाको प्रवर्द्धन, संरक्षण र विकास गर्दै आर्थिक उपार्जन गर्न सकिने बताउनुभएको हो । उहाँले होमस्टेलाई कार्यक्रममा मात्रै सीमित नगरी ग्रामीण भिलेज होमस्टेको रुपमा स्थापित गर्न सके पर्यटन प्रवर्द्धनका लागि थप गन्तव्यको पहिचान गराउन सकिने पनि बताउनुभयो ।
राज्यले पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा वार्षिक लाखौं युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थालाई रोक्न र बेरोजगारी अन्त्य गर्दै होमस्टे संचालन गरेर गाउँलाई नै आर्थिक रुपले आत्मनिर्भर बनाउन सक्ने मन्त्री तामाङको भनाइ थियो । विदेशी पर्यटकलाई गाउँ घरमा रहेका मौलिक आवास खाना र संस्कार, संस्कृति देखिएर आकर्षण गर्नुपर्नेमा उहाँको जोड छ ।
आधुनिकताको नाममा ऋण गरेर रड र सिमेन्टको प्रयोग गरी बनाइएका नयाँ संरचनाले विदेशी पर्यटक भित्र्याउन सम्भव नभएको स्पष्ट पार्दै मन्त्री तामाङले पुरानो शैली र संरचनामा निर्माण भएका घरहरुमा होमस्टे संचालन गर्न उपयुक्त हुने सुझाव दिनुभयो । धार्मिक र सांस्कृतिक पर्यटक पनि नेपालले लाखौंको संख्यामा भित्र्याउन सक्ने भन्दै उहाँले त्यसको उपयुक्त माध्यम होमस्टे भएको पनि धारणा राख्नुभयो ।
मन्त्री तामाङले भन्नुभयो, 'गाउँ घरमा छरिएर रहेका अमूल्य सम्पदाहरु भनेकै हाम्रो संस्कृति, परम्परा, कला, प्राकृतिक सौन्दर्यता हो । यो धनी मुलुकका धनी पर्यटकका लागि बहुमूल्य हुने गर्छ । त्यसैले यसको रक्षा गरेर मौलिकता जोगाउन सके पर्यटक भित्र्याएर रोजगार सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान हुन्छ ।”
विदेशी पर्यटक आधुनिक विकास हेर्न नभएर नेपालमा मौलिकता र प्राकृतिक सौन्दर्यताको आनन्द उठाउन आउने मन्त्री तामाङको भनाइ थियो । होमस्टे क्षेत्रको विकास र प्रवर्द्धनमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले पुराना कानुनको अध्ययन, आजको आवश्यकताअनुरुप संशोधन र निर्माणमा पहल गर्ने बताउनुभयो । साथै मन्त्री तामाङले ककनीमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बनाउने पनि जानकारी दिनुभएको छ । त्यसका लागि कामसमेत अगाडि बढिसकेको उहाँको भनाइ छ । सार्वजनिक-निजी-साझेदारी (पीपीपी) मोडेलबाट उक्त प्रदर्शनी केन्द्र बनाउने तयारी रहेको बताउँदै उहाँले यो ककनीको मुहार परिवर्तन गर्नका लागि महत्वपूर्ण थालनी हुने दाबी गर्नुभयो ।
मन्त्री तामाङले तारा गाउँ विकास समितिलाई ककनीमा रहेको भौतिक संरचना र अचल सम्पत्तिको उच्चतम प्रयोग गरेर नाफा कमाउने गरी नयाँ योजना कार्यान्वयनमा ल्याउन सरकारले तयारी गरेकोले सोहीअनुरुप कार्य गर्न निर्देशनसमेत दिनुभयो । ककनीमा रहेको रिसोर्टलाई व्यवस्थित र विस्तार गर्ने संकेत गर्दै मन्त्री तामाङले भन्नुभयो, 'अब तारा गाउँले संचालन गरेका रिसोर्टले छिट्टै नाफा कमाएको देख्न सुन्न पाउनुहुनेछ, तपाईंहरु नआत्तिएर काम गर्नुहोस् ।'
काठमाडौंबाट ककनीसम्म आइपुग्ने तीन पिप्लेदेखि रानीपौवासम्मको सडकको समस्या पनि चाँडै हल हुने उहाँले बताउनुभयो । हाल उक्त सडक १ अर्ब ३३ करोडको लागतमा स्तरोन्नति भइरहेको छ ।