काठमाडौं । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले आफ्नो समुदायमा राष्ट्रिय जनगणनाका विषयमा भएको छलफल र बहसलाई लिएर प्रश्न उठाउनुभएको छ ।
काठमाडौंमा आयोजित तामाङ पत्रकार संघ वाग्मती प्रदेशको प्रथम प्रदेशसभा उदघाट्न सत्रमा सम्बोधन गर्नुहुँदै उपसभामुख तामाङले जनगणनाको विषयमा आन्तरिक छलफलभन्दा पनि अरुलाई आतंकित पार्ने ढंगको गतिविधि हुन पुगेको टिप्पणी गर्नुभएको हो । 'तामाङ समुदायको पहिचान, भाषा, भेषभुसाको बारेमा सही जानकारी गराउन नसकेको हो कि भन्ने महसुस भइरहेको छ,' उपसभामुख तामाङले भन्नुभयो, 'जनगणनाको विषययमा पनि आन्तरिक छलफलभन्दा अरुलाई आतंकित हुने गरी हल्ला पो गर्यौं कि भन्ने प्रश्न उठेको छ ।'
जनगणनामा सही र सत्य तथ्यांक आओस् भन्ने ध्येयअनुसार अघि बढे पनि आतंकित र अरु व्यक्तिहरुको चासो धेरै हुन पुगेको उहाँले उल्लेख गर्नुभयो । उहाँले केन्द्र सरकारको तयारी हेर्दा र गणकहरुका कारण जनगणनामा सही तथ्यांक आउँछ भन्ने आफूलाई नलागेको बताउनुभयो ।
राजनीतिक दल र सम्बन्धित पक्षले पहिचानको मुद्दा बिर्सिँदै गएको महसुस आफूलाई भइरहेको भन्दै उपसभामुख तामाङले पुन: सम्झाउनका लागि तामाङलगायत पत्रकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यस्तै संवैधानिक रुपमा व्यवस्था गरिएको समावेशी र समानुपातिकको महत्त्व अरुलाई भन्दा तामाङ समुदायलाई बढी भएको भन्दै उहाँले यस्ता कुरालाई सही तरिकाले कार्यान्वयन गर्न सकेनौं भने बिस्तार-बिस्तारै खोसिँदै जानेतर्फ सचेत गराउनुभयो ।
तामाङ मिडिया र यस समुदायका सञ्चारकर्मीले पहिचान, अधिकारलगायतका विषयमा तामाङ समुदायका जनप्रतिनिधिसँगै अन्य समुदायका व्यक्तिलाई पनि झकझक्याउन जरुरी भएको उहाँले बताउनुभयो । उपसभामुख तामाङले तामाङ पत्रकार संघ वाग्मती प्रदेशको नयाँ निर्वाचित हुने नेतृत्वलाई अग्रिम शुभकामना दिनुहुँदै स्ट्रोङ र पावरफूल परिणाम अबको कार्यसमितिले दिने विश्वास पनि ब्यक्त गर्नु भयो ।
बौद्धमा सुरु भएको तामाङ संघ वाग्मती प्रदेशको पहिलो अधिवेशनले आजै नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनमा प्रतिनिधि र परीवेक्षक गरी १३ जिल्लाका ५२ जना सहभागी छन् ।