घलेभन्जाङ । नुवाकोट पञ्चकन्या गाउँपालिकाले भर्खरै आरम्भको नयाँ आर्थिक वर्ष २०७८/०७९ का लागि कृषितर्फ १ करोड ४२ लाख बजेट विनियोजन गरेको छ ।
असार १० बिहीबार अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सीता पराजुलीले नयाँ बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रका लागि उक्त बजेट विनियोजन गरेको जानकारी गराएकी हुन् । कृषिको व्यवसायिकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र वैज्ञानिकीकरणबिना समग्र देश तथा पञ्चकन्याको अर्थतन्त्रमा गुणात्मक सुधार हुन नसक्ने भन्दै उक्त कुरामा जोड दिइएको छ ।
मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब ३० प्रतिशत योगदान गर्ने र दुई तिहाई नेपालीको प्रमुख पेसाको रुपमा रहेको कृषि क्षेत्रलाई परिस्कृत बनाउँदै उत्पादनमा वृद्धि गर्न तथा कृषि प्रणालीलाई वैज्ञानिक, व्यावसायिक र वातावरण तथा जलवायु अनुकूलित बनाउँदै आर्थिक वृद्धिको दिगो आधार तयार गर्न बजेट विनियोजन गरेको उल्लेख गरिएको छ ।
पशुपालन पेशालाई सहज बनाउने प्रक्रियाको निरन्तरता दिन 'एक वडा एक घाँसको श्रोत केन्द्र स्थापना', 'एक वडा एक गोदाम', '३ वडामा दुग्ध संकलन केन्द्र', 'पशु सेवा केन्द्र स्थापना तथा बिक्रीमा अनुदानको नीतिलाई अवलम्बन गर्न पाठी उपहार, भूमी बैंकको अवधारण बेरोजगार युवालाई माटो उपहार, युवा प्रोत्साहन कोष, उत्कृष्ट कृषक सम्मान, कृषकको ग्राहक स्थानीय सरकार कार्यक्रम तथा कारोबारमा आधारित अनुदानजस्ता लोकप्रिय कार्यक्रम अघि सार्दै बजेट व्यवस्था गरिएको छ ।
सिँचाई
कृषिको वैज्ञानिकीकरण र आधुनिकिकरणको अभियान गन्तव्यमा पुर्याउन प्रत्येक जमिनलाई १२ महिना चल्ने सिँचाई सुविधाले सिञ्चित गर्न
सक्नु पर्ने मूलमन्त्रको आधारमा पञ्चकन्या गाउँपालिकाले सिँचाइका लागि २५ लाख ५० हजार रकम छुट्याएको जनाएको छ ।
गाउँसभामा आगामी आर्थिक वर्षका लागि ४२ करोड ६८ लाख १६ हजार विनियोजन गरिएको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ २३ करोड १७ लाख ५९ हजार अर्थात् ५४.२९ प्रतिशत र पुँजीगततर्फ १९ करोड ५० लाख ५७ हजार रुपैयाँ अर्थात् ४५.७१ प्रतिशत रहेको बजेटमा जनाइएको छ ।
सडकतर्फ भने १३ करोड ७७ लाख बजेट विनियोजन गरिएको छ । यसपटक पालिकाको २ नम्बर वडामा पर्ने छहरे-राष्ट्रिय मावि कालोपत्रे गर्ने तयारी छ ।