घलेभञ्ज्याङ । पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा अवस्थित पञ्चकन्या मन्दिरमा अबको तीन दिनपछि पाँचकन्या मेला सुरु हुँदैछ । यो मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म दुई दिने मेला लाग्दछ ।
मेलामा पहिलो दिन स्थानीय झाँक्रीका विभिन्न टोली घरदेखि सिँगारिएर मन्दिरसम्म नाच्दै जाने र पञ्चमीको दिन अपराह्न घर फर्कने, स्थानीयले मनोकांक्षा पूरा हुने विश्वासले मादी र दियो बत्ती बाल्ने गर्छन् । गाउँपालिका भित्रका, नुवाकोटका विभिन्न स्थानबाट र काठमाडौंबाट समेत मेला भर्ना भक्तालु जाने गर्छन् ।
गत वर्ष कोरोना भाइरसका कारण ठूलो मेला नलागेको पञ्चकन्यामा यस पटक भने भव्य मेलाको तयारी भइरहेको पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार यही मंसिर ७ र ८ मा लाग्ने मेलाका लागि झाँकी व्यवस्थापन, कलाकार सम्पर्क समिति, सांस्कृतिक कार्यक्रमका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारलगायत समिति निर्माण गरेर स्थानीयले तयारी तीव्र पारेका छन् ।
पाँचकन्या मेला मूल व्यवस्थापन समितिको तयारी र गाउँपालिकाले यस पटक पालिकाभित्रका कलाकारहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा जन्मेर लोक तथा दोहोरीलगायत गीतसंगीतमा आबद्ध कलाकारहरुलाई प्रमाणपत्र, खादासहित सम्मान गर्न लागिएको हो ।
'अहिलेसम्म १७/१८ कलाकारहरु सम्पर्कमा आइसक्नुभएको छ । बाँकीको नाम संकलन भइरहेको छ,' अध्यक्ष तामाङले भन्नुभयो, 'झाँकीसहित कलाकार सम्मान र स्थानीय र राष्ट्रिय कलाकारको जमघटमा रातभर स्टेज प्रोग्राम हुन्छ ।'
मेलामा स्थानीय र छिमेकी गाउँका झाँक्रीहरुको नाँच देख्न सकिन्छ । मेलाको पहिलो दिन झाँक्रीहरु सिँगारिएर मन्दिरमा जाने, झाँक्रीसँगै स्थानीयले मनोकांक्षा पूरा हुने विश्वासले दियो र मादी बत्ति बाल्ने चलन छ । आफ्नै भेषभूषामा सजिएका झाँक्रीहरु बेलुकी पाँचकन्या मन्दिरमा जाने, पूजाआजा गर्ने र रातभर फलाक्ने, नाँच्ने गर्छन् भने व्रतालुहरुले रातभर बत्ति निभ्न नदिने चलन छ । साँझ जगाएको मादी बिहान सबेरै करिब २ सय मिटर तल घलेभन्ज्याङको धारामा ल्याइ सेलाउने चलन छ । बेलुकी र बिहान मादी सेलाउने अनि पञ्चमीका दिन झाँक्री घर पुग्ने बेलासम्मै महिला, पुरुष हात समाएर राम्ररी नाच हो झाँक्री नाँच भन्दै भट्याउने चलन छ ।
यसअघि पाँचकन्या मेला- २०७६ मा चर्चित लोकदोहोरी गायक रामजी खाँड, गायिकाहरु स्मृति गौतम, मञ्जु गौतमलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा कार्यक्रम गरिएको थियो । मेला भर्न घलेगाउँका साथै आसपासका पन्चकन्या गापाका कात्तिके, राउटार, कविलास, बयागाउँ, जैसीगाउँ, कुवापानी, नेवारपानी, छापथोक, थप्रेक, आरुखर्क, घ्याङस्वाँरा, बोकेडाँडा, भद्रुटार, शिवपुरी गाउँपालिकाका सिलामे, जेब्राङ, खनियाखर्क, सुनखानी, थानसिंङलगायत ठाउँका मानिसहरु पुग्ने गर्छन् । पछिल्ला वर्ष सडक मार्गको पहुँच पुगेपछि काठमाडौंबाट समेत मेला हेर्ने जाने गर्दछन् ।
बलि प्रथा
पञ्चकन्या मन्दिर कहिले उत्पन्न भयो र जात्रा कहिले देखि लगाउन थालियो भन्ने कुनै मिति छैन । परापूर्वकालदेखि नै मेला लाग्न थालेको पञ्चकन्या मन्दिर परिसरमा रहेको सप्तकन्यामा स्थानीयले बलि दिने चलन छ । रोग हरण र मनले चिताएको पुग्ने विश्वासले भाकल गर्ने, गाउँको देउतालाई बुझाउन भनेर नियमित पूजाको रुपमा बोका, कुखुरा बलि चढाइन्छ । पञ्चबलि दिने चलन पनि कायमै छ । पञ्चकन्या मन्दिर परिसरको उत्तरतर्फको पहराको कुनामा अवस्थित सातकन्या थानमा जात्राको अन्तिम दिन पशुबलि दिइसकेर सबै भक्तजन फर्किसकेपछि सुनसान अवस्थामा देवीले सर्पको रुप धारण गरेर भोग दिएको खान आएने गरेको स्थानीय बताउँछन् ।
अविछिन्न रुपमा तामाङ पूजारी
परापूर्वकालदेखि नै पञ्चकन्या मन्दिरमा मुख्य पुजारी र झाँक्री तामाङ जातिका रहेकाले त्यही समुदायकोले निरन्तरता छ । तर पञ्चकन्या मन्दिरमा तामाङका अलावा क्षेत्री, ब्राह्मण जातिले धार्मिक सहिष्णुताका हिसाबले पूजाआजा गर्ने गर्छन् । वर्तमान मूलझाँक्री एवं पूजारी लालबहादुर तामाङका अनुसार तत्कालीन घले राजाको पालादेखि अहिलेसम्म २० जना पूजारी पुगेका छन् ।
- छ्योइपण्डित झाँक्री
- शीतलसिंह झाँक्री
- वीरजीत झाँक्री
- समरसिंह झाँक्री
- वासुदेव झाँक्री
- गोरे झाँक्री
- साक्री झाँक्री
- कलुराम झाँक्री
- आँसुमान झाँक्री
- श्रीमान् झाँक्री
- मानदोर्जे झाँक्री
- ङेवाङ झाँक्री
- छेवाङ झाँक्री
- सेते झाँक्री
- सम्बरबहादुर झाँक्री
- सेलकर झाँक्री
- गाजले झाँक्री
- धनबहादुर झाँक्री
- चन्द्रबहादुर झाँक्री
- लालबहादुर झाँक्री (वर्तमान)
मन्दिर उत्पतिको ऐतिहासिक तथ्य प्रमाण अहिलेसम्म भेटिएको छैन । स्थानीय जानकारहरुका अनुसार नेपालमा बाइसे चौबिसे राज्य रहेको बेला घलेगाउँमा घले राजाले राज्य गर्दथे । त्यतिबेला सो स्थानलाई घले राजाको राजधानी भन्ने पनि गरिन्थ्यो । घले राजा धर्मकर्ममा बढी रुची राख्थे । त्यसैकारण पञ्चकन्या मन्दिरको रेखदेख उनै घले राजाले गर्दथे । राजा वृद्ध हुँदै गएपछि जनताले एकजना पुजारी राख्न सुझाव दिएछन् । त्यसपछि एकदिन राजाले गाउँले भेला गरी त्यहाँको प्रसिद्ध झाँक्री छ्योइपण्डितलाई पञ्चकन्या मन्दिरमा पुजारी तोकी पूजा कार्य अगाडि बढाइएको बताइन्छ ।
पहिलो भनिएको पुजारी यस्ता शक्तिमान !
परापूर्वकालमा छ्योइ पण्डित झाँक्री र आर्य जातिका बाहुन कुनै ठाउँमा घुमेर आउँदा घलेगाउँको जन्तरे पोखरीमा नुहाउने सम्बन्धमा विवाद चर्किएछ । बाहुनलाई झाँक्रीले पहिले नुहाउन भनेछन् । बाहुन नुहाउन लुगा फुकालेर लगौटी मात्र लगाएर पोखरीमा डुबुल्की मारी निस्किएछन् । त्यसपछि छ्योइ पण्डित बाजेको पालो आयो नुहाउने । उनले चाहिँ आन्द्राभुँडी सर्लक्क निकालेर धुन थालेछन् । शरीर नुहाउने भनेकोमा झाँक्रीले भित्रि शरीर आन्द्राभुँडी नै पखालेको देखेका बाहुनले झाँक्रीलाई भनेछन्, 'तेरो शक्ति छ भने बाघको दूध दुहेर ल्याउ ।' छ्योइ पण्डित झाँक्रीले घोडा अघि लगाएर बाघको दूध होइन कि बथानै बाहुनको घरमा पुर्याइदिएपछि बाहुनले, 'ल तँ धेरै शक्तिशाली रहेछ भनेछन् ।' झाँक्री शक्तिमान रहेको पुष्टि भएपछि सबैले पुज्न थालेको किम्बदन्ती पाइन्छ ।
तामाङ झाँक्रीहरुले पञ्चकन्या मन्दिरमा नेतृत्व गरे पनि क्षेत्री, बाहुनहरुले पूजा नै नगर्ने भन्ने होइन । सो मन्दिरको देउता विशेषगरी तामाङ झाँक्रीले बुझाउँदा बढी खुसी हुने भन्दै क्षेत्री, बाहुन समुदायले शुभकार्य र देउतालाई घन्टा चढाउने जस्ता विषयमा मूल पूजारीमार्फत गराउने चलन छ ।
पर्यटकीय गन्तव्यको सम्भावना
घलेभञ्ज्याङको अहिले पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बढ्दै गएको छ । काठमाडौँको सीमाबाट सीधा १९ किलोमिटर र छहरे बजार-कविलास हुँदै जाँदा करिब ४५ किलोमिटरको दूरीमा रहेको सो स्थानबाट विभिन्न हिमालका मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । समुद्री सतहदेखि करिब १ हजार ५ सय मिटर उचाइमा रहेको घलेभञ्ज्याङबाट गणेश हिमाल, राहुचुली, लाङटाङ, लाङटाङ री, पुमरी, दोर्जे लाक्पा नामका हिमाललाई हेर्न सकिन्छ ।
उत्तरी मोहडा फर्किएको घलेगाउँ चारैतिरका टारी खेत तथा जंगलको हरियाली, पाँचकन्या मन्दिर परिसरमा हिउँदमा फूल्ने लालीगुराँस अर्को विशेषता हो । विभिन्न चराचुरुङ्गीको आवत–जावत हुने त्यस आसपास क्षेत्रमा पञ्चकन्या गाउँपालिकाको अस्थायी कार्यालय, पशुसेवा उपकेन्द्र, इलाका प्रहरी कार्यालय पञ्चकन्या लगायत सेवा कार्यालय खुलेका छन् ।
साबिक पञ्चकन्या गाविस–१ मा पर्ने घलेगाउँ पर्यटन क्षेत्रको विकासका लागि पर्याप्त अवसर रहेकोले स्थानीय तहले प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरी यातायात सहज आगमनको व्यवस्था तथा भौतिक पूर्वाधारको संरचना तयार गर्नुपर्ने स्थानीय बताउँछन् । गाउँपालिकामा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर तामाङ निर्वाचित भएलगत्तै सडक यातायातको सुविधा बढ्दै गएको छ । गाउँपालिका अध्यक्ष तामाङले आफ्नो कार्यकालमा सडक पूर्वाधार र पर्यटन प्रवर्द्धनका कार्यक्रमलाईप्राथमिकतामा राखेको बताउनुभयो ।
चौघडा, कविलास, पञ्चकन्या, थप्रेक र भद्रुटार तत्कालीन गाविस समायोजन भएर पञ्चकन्या गाउँपालिका बनेको हो । यस पालिकामा धान, कोदो, मकै, अदुवाको उत्पादन हुन्छ । सो क्षेत्रमा ‘होम स्टे’ (घरबास) का लागि पनि प्रयत्न भइरहेको छ । गाउँपालिकाले वडा नम्बर ४ मा रहेको घ्याङ्गस्वाँरामा पार्क निर्माण भइरहेको छ । उक्त ठाउँमा केही पाहुना घर पनि निर्माण गरिएको छ । तामाङ समुदायको बाक्लो बस्ती भएको यहाँ क्षत्री, बाहुन, दलित लगायतको पनि मिश्रित बसोबास पाइन्छ ।