घलेभञ्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले २६ वर्षको शासनकालमा गर्न नसकेको छहरे-राष्ट्रिय मावि कविलासको सडक असारभित्र पीच गरेर देखाइदिने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) पञ्चकन्या ३ नम्बर वडा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष तामाङले गाउँपालिका, प्रदेश सरकार र सडक विभागको बजेटबाट करिब ७ किलोमिटर बाटो कालोपत्रे (पीच) गरेर देखाउने बताउनुभएको हो । '२६ वर्षसम्म पटक-पटक अर्थ मन्त्रालय सम्हालेका नेता महोदयले आफ्ना गाउँमा, निर्वाचन क्षेत्रमा नगरेका काम मेरो कार्यकालमा गर्दैछु । असारभित्र छहरेदेखि राष्ट्रिय माविसम्म पीच गरेर देखाउनेछु,' तामाङले भन्नुभयो ।
उक्त बाटो पीच गर्नका लागि बजेट आफ्ना नेताले पारेको भन्दै कांग्रेस कार्यकर्ताले भ्रम छर्न खोजेकोमा माओवादी केन्द्र नुवाकोटका प्रभावशाली नेता तामाङले आपत्ति जनाउनुभयो । 'केही साथीहरुले भन्ने गरेका छन् हाम्रा नेताहरुले पैसा हालिदिएका रे । कस्तो लाचपचेका । आफ्नो पालामा । आफ्नो नेताले गर्न नसक्ने । आफ्ना नेतालाई गराउन नसक्ने । आफ्नो कार्यकर्ताले पहल गर्न नसक्ने अनि अर्काले गरेको कामलाई हाम्रो नेताले गर्दैछ भन्ने,' अध्यक्ष तामाङको भनाइ थियो, 'त्यो कोही कसैको पहलमा होइन । १ करोड गाउँपालिकाको पैसा छ । १ करोड मेरै पहलमा, राधिका तामाङ माननीयज्यूको पहलमा प्रदेश सरकारको पैसा छ । र यही क्षेत्रका आदरणीय गुरु माननीय हितबहादुर तामाङले आफ्नो लेटर प्याडमा सही गरेर माग्नुभएको ३ करोड रुपैयाँ सडक विभागबाट विनियोजन हुने बजेट छ । त्यही पैसाबाट मैले राष्ट्रिय माविसम्म पीच गर्दैछु ।'
अहिले हाम्रो पार्टीको प्रधानमन्त्री हुँदा पैसा हालेको भनेर कांग्रेसजनले हल्ला गर्नुको तुक नरहेको भन्दै तामाङले गर्ने भए यसअघि नै गर्नु पर्थ्यो नि ! भन्ने जवाफ फर्काउन भयो । बजेट माओवादीको पहलमा पारिएको भन्ने आश्वस्त पार्न अध्यक्ष तामाङले भन्नुभयो, 'राष्ट्रिय माविसम्म ३ करोड कसले हालेको रहेछ । अर्थ मन्त्रालयमा गएर हेर्न सकिन्छ, माननीय हितबहादुर तामाङले पहलमा पारेको हो कि होइन भनेर बुझ्नुस् । त्यो होइन रहेछ भने 'यो झुट बोल्दोरहेछ भनेर मलाई थप्पड हान्नस्,' तामाङले निर्देशनात्मक शैलीमा भन्नुभयो, 'त्यस्ता भ्रम छर्नेहरुको खण्डन गर्नुहोस् तपाईंहरुले । वाईसीएल अब चुप लागेर बस्दैन । अब निर्वाचन आउँदैछ । त्यस्ता कुराको खण्डन गर्न र विपक्षीसँग प्रतिस्पर्धा गर्न तम्तयार रहन म अपिल गर्छु ।'
माओवादी कोही कसैसँग नझुक्ने र झुट नबोल्ने भन्दै अध्यक्ष तामाङले आइलागेमा जाइलाग्ने चेतावनी दिनुभयो । 'हामी कसैलाई आरोप लगाउँदैनौं । कोहीसँग जाइलाग्दैनौं । तर अनावश्यक रुपमा भ्रम सिर्जना गरेर आइलाग्छ भने त्यो सँग जाइलाग्ने वाईसीएल अथवा माओवादीको पहिचान र विशेषता हो । झुक्दैन कोही माओवादीहरु । झुठ बोल्दैन । त्यो कुरा याद राख्नु ।' आफू निर्वाचित भएपछि पञ्चकन्यामा के विकास भयो भन्ने कुरा पालिकावासी जनता जानकार रहेको भन्दै तामाङले भन्नुभयो, 'मैले के गरेको पञ्चकन्यासीले देखेको छ । कार्यकर्ताले झुट नबोल्ने र के के गरेको पार्टीले सत्यतथ्य जनतालाई भन्नुपर्छ ।'