काठमाडौँ । काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै पछिल्लो एक हप्ताको विवरणअनुसार संक्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले संक्रमणको दर बढेको पाइएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि संक्रमणदर पनि बढिरहेको बताउनुभयो । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट संक्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ ।
सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड–१९ को संक्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भइरहेको जनाएको छ । उहाँका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा संक्रमणदर रहेको छ । नेपालमा शुरुदेखि अहिलेसम्मको संक्रमणदर भने १९.३ प्रतिशत रहेको छ ।
संक्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो सङ्ख्या बढेर तीन हजार पुगेको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा संक्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ पुगेका छन् ।
यस्तै साउन २ गते १० हजार ६६ परीक्षण हुँदा एक हजार ८७५, ३ गते नौ हजार ६२८ परीक्षण गर्दा एक हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा दुई हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा तीन हजार १०८ र साउन ६ गते दुई हजार ८३८ जना सङ्क्रमित भएका छन् ।
मन्त्रालयका अनुसार मृत्यु हुने सङ्ख्या १८ सम्ममा झरे पनि बिहीबार २४ जनाको संक्रमणबाट निधन भएको छ । यसैगरी सबभन्दा बढी संक्रमणदर हुने प्रदेशमा प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । ती प्रदेशमा परीक्षण गरिएकामध्ये दुई जनामा एक जना सङ्क्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताउनुभयो ।
जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताउनुहुन्छ । उहाँले परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा संक्रमणको जोखिममा अझै रहेको बताउनुभयो ।
उहाँले खोप लगाएका मानिसबाट पनि संक्रमण सार्ने जोखिम उत्तिकै रहेको बताउनुहुन्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यमा मापदण्ड प्रयोग नगर्दा जोखिम रहको बताउनुहुन्छ । उहाँले केही समय अस्पतालमा सङ्क्रमित बिरामी कमी आए पनि अहिले उपचार गर्नेको सङ्ख्या पनि बढेको बताउनुभयो ।
१० जिल्लामा ५०० भन्दा बढी
अहिले ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० वटा रहेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व) र रुपन्देही रहेका छन् । यही साउन ६ गते मात्र ५ं०० भन्दा बढी सङ्क्रमति हुने नवलपरासी (पूर्व), रुपन्देही र कास्की जिल्ला थपिएका हुन् । यसैगरी २०० भन्दा बढी सङ्क्रमति हुने जिल्ला २६ पुगेका छन् । मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी संक्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ ।
तेस्रो लहर आउन सक्छ : स्वास्थ्य मन्त्रालय
सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ । अस्पतालका निर्देशक डा बाँस्तोलाले तेस्रो लहरका रूपमा डेल्टा प्लस भेरियन्ट नेपालमा देखिइसकेकाले जोखिम शुरु भइसकेको बताउनुभयो । उहाँले डेल्टा प्लस भेरियन्ट निकै सङ्क्रामक रहेकाले बच्नुपर्ने बताउनुभयो ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै संक्रमणको बढ्दो अवस्थाले तेस्रो लहर आउन सक्ने बताउनुभयो । उहाँले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, श्ययालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गर्नुभएको छ ।
निको हुने पनि स्थिर
संक्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ गतेसम्मको ९४.७ प्रतिशतमा स्थिर रहेको थियो । साउन २ गते ९४.७ प्रतिशत, ३ गते ९४.७ प्रतिशत, ४ गते ९४.७ प्रतिशत, ५ गते ९४.६ प्रतिशत ६ गते निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।