नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटको अध्यक्षमा राजेन्द्र पनेरु चयन हुनु भएको छ ।
शनिबार सम्पन्न अखिल (क्रान्तिकारी) नुवाकोटको १७औँ जिल्ला सम्मेलनले पनेरुको नेतृत्वमा ३३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र थापा, उपाध्यक्षहरुमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्ष रामेश्वोर वाग्ले, सचिव कपिल साह, सहसचिव निराजन दाहाल, कोषाध्यक्ष रोजिना तामाङसहित ३३ सदस्य जिल्ला समिति चयन भएको हो ।
नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रदीप शर्माले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष पनेरुले संगठनको ओजलाई कायम राख्दै विद्यार्थी आन्दोलनको मर्म र सम्पूर्ण विद्यार्थीको पक्षमा निरन्तर आवाज बुलन्द गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 'गर्विलो इतिहास बोकेको हाम्रो गौरवशाली संगठनको ओजलाई कायम राख्दै विद्यार्थी आन्दोलनको मर्म र सम्पूर्ण विद्यार्थीको पक्षमा निरन्तर आवाज बुलन्द गर्ने प्रतिबद्धतासहित निर्वाचित सम्पूर्ण कमरेडहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,' उहाँले भन्नुभयो । उहाँले सम्मेलनबाट आफूलाई जिल्ला अध्यक्ष पदमा सर्वसम्मतिमा निर्वाचित गराउनुहुने सम्पूर्ण आयोजक समिति सदस्यहरु, प्रतिनिधिहरु, पार्टी नेतृत्वगण, संघठनका नेतृत्वगणप्रति कृतज्ञ व्यक्त गर्नुभएको छ ।
माओवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्वमन्त्री हितबहादुर तामाङ, संघीय सांसद बिमला सुवेदी, बागमती प्रदेश सांसद रामप्रसाद ढुंगाना, राधिका तामाङ, युवा नेता हिमाल शर्मा, पुष्प लामिछाने, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रदीप शर्मा, जिल्ला समन्वय प्रमुख, विभिन्न पालिकाका जनप्रतिनिधि, पार्टीका नेता, कार्यकर्तासहित जिल्लाभरिबाट अखिल क्रान्तिकारी समर्थकहरुको भेला थियो ।