सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी संघीयतापछि गाउँपालिकाको नाम पनि यसै ऐतिहासिक स्थानबाट नामकरण गरियो ।
हरिहरिपुरगढी किल्ला अग्लो डाँडामा रहेको छ । त्यहाँ पहिलो पटक घुम्न पुग्ने जोकोही पनि रमाउन सक्ने प्राकृतिक सौन्दर्यतासँगै र इतिहास बोकेको छ । हरिहरिपुरगढीको बारेमा जानकारी गराउनुपर्दा किल्लाको वरिपरि हरियाली जंगल, उत्तरबाट मकवानपुर र सिन्धुलीलाई छुट्याउँदै बगेको वाग्मती नदी, दक्षिणतर्फ तराईका फाँट, पश्चिम मकवानपुरको वाग्मती गाउँपालिकाको मनोरम दृश्य सहजै देख्न सकिन्छ । अर्को कुरा, हरिहरपुरगढी सिन्धुलीगढीभन्दा पुरानो इतिहास बोकेको किल्ला हो ।
बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भीषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालीन राजा हरिसिंह देव विसं १३८७ मा सिन्धुली आएर सानो किल्ला बनाएर बस्नुभएको थियो । त्यही किल्लाले राज्यको रूप लिएको थियो भने यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भनेर भन्न थालियो ।
सिन्धुलीगढीमा पराजित भएका इष्टइन्डिया कम्पनीका फौजले एक पटक फेरि काठमाडौं प्रवेश गर्न हरिहरपुरगढीबाट फेरि प्रयास गरेको इतिहास छ । त्यहाँसमेत अंग्रेज फौजलाई गोर्खालीले परास्त गर्नुभएको थियो । इतिहास साक्षी भएपछि हरिहरपुरगढी भने अहिले पुनः निर्माणको पखाईमा छ । हरिहरपुरगढी गाउँपालिका अहिले उक्त किल्लाको विकासमा जुटेको छ । संघीयतापछि हरिहरपुरगढी गाउँपालिका यस ऐतिहासिक किल्लाको विकासमा निरन्तर जुटिरहेको छ । तर सामान्य बजेटले किल्लाको मर्मतसम्भार, निर्माण कार्य पूरा नहुने हुँदा स्थानीय सरकार केन्द्र र प्रदेश सरकारसँग आवश्यक बजेटको खोजिमा निरन्तर लागिरहेको छ । यस वर्षदेखि भने किल्ला र दरबारको संरक्षण—विकासमा पालिका अझ तीव्ररुपमा लागिरहेको छ ।
पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार सामान्य कच्ची सडक भएको हरिहरपुरगढी दरबारसम्म अब सडक निर्माण अघि बढ्ने भएको छ । पालिकाको पहलमा हरिहरपुरगढीको वडा नम्बर ३ गुर्जीबाट हरिहरपुरगढीसम्म पुग्नको लागि केही समयअघि मात्रै सडक सर्भेको काम सम्पन्न भएको छ । गढीसम्म पुग्नको लागि गुर्जीबाट ८ किलोमिटर सडकको निर्माण गर्नुपर्ने हुन्छ । यसै वर्षदेखि सडक निर्माण पनि अघि बढाइने पालिका अध्यक्ष वाइबाले बताउनुभयो ।
गुर्जीदेखि गढीसम्म सडक निर्माणको लागि संघ सरकारबाट एक करोड बजेट विनियोजन गरिएको छ । सडक निर्माण कार्य सम्पन्न भएपछि पर्यटक अझ बढ्ने पालिकाको अनुमान रहेको छ । अबको दुई वर्ष भित्रमा सडक निर्माणकार्य सम्पन्न हुने गरी काम गरिने अध्यक्षको भनाइ छ । सडक निर्माणबाहेक गढीको अन्य पूर्वाधार विकासको लागि थप ९० लाख बजेट पारिएको छ । वाल, बार लगाउने, स्टेज बनाउने, बस्ने चौतारीदेखि विभिन्न भौतिक संरचनाको सुधार गरिने छ । सामान्य रुपमा ऐतिहासिक दरबार भनेपछि विभिन्न स्थानबाट नागरिकहरु अवलोकनको लागि पुग्नु हुन्छ । तर दरबारको विकासमा बजेट नहुँदा गढी बजेटको पखाईमा थियो । संघ, प्रदेशमा विकासको लागि बजेटको अनुरोध गरेपछि विस्तारै/विस्तारै विकासको पखाईमा रहेको गढीको रुप फेरिन्छ कि भन्ने सबैको आश रहेको छ । अबको केही वर्षमै गढीलाई पर्यटकीय क्षेत्रको रुपमै विकास गरिने छ र पालिकालाई पनि लाभ मिल्ने देखिन्छ ।
हरिहरगढी एउटा ऐतिहासिकगढी किल्ला हो । नेपाली सेना र अंग्रेज बीचको लडाइँमा देशकै मजबुत किल्लाको रुपमा परिचित थियो । प्रदेश र संघ सरकारबाट चासो थिएन अध्यक्ष वाइबा आफैले शक्ति केन्द्रको ध्यानाकर्षणको लागि केही मिडियामा गढीको प्रचार/प्रचार गर्नुभयो । हाल भने गढीको सरसफाइको लागि एक जना कर्मचारी राखिएको छ ।