न्यूयोर्क । अमेरिका निवासी समाजसेवी इन्द्र तामाङको आत्मकथा आइतबार सार्वजनिक गरिएको छ । ज्याक्सनहाइटस्थित एक रेस्टुरेन्टमा आयोजित कार्यक्रममा वाणिज्यदूत विष्णुकुमारी अधिकारी र आचार्य लामा गुरु दावा साङमोले तामाङको आत्मकथा 'माई क्युरियस इअर्स वीथ चार्ल्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ इन्द्र बी. तामाङ' संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
वाणिज्यदूत अधिकारीले तामाङले नेपालीलाई इमान्दार तथा संघर्षशील रुपमा विश्वमा चिनाएको चर्चा गर्दै पुस्तकले धेरैलाई प्रेरणा दिने बताउनुभयो । कार्यक्रममा लेखक तामाङकी छोरी जिना तामाङले लेखक तामाङबारे परिचय गराउनुभयो ।
पुस्तकबारे तामाङ सोसाइटी अफ अमेरिकाका पूर्वअध्यक्ष तथा सोसाइटी अफ अमेरिका सल्लाहकार राम तामाङले लेखकले काठमाडौंदेखि अमेरिकासम्म बसाइका क्रममा जीवनमा भोगेका अनुभवहरु सँगालेको बताउनुभयो । उहाँले अमेरिकामा तामाङले लेखेको पहिलो किताब भएकोमा आफूलाई गर्व लागेको बताउँदै बधाई तथा शुभकामना दिनुभयो ।
सामाजिक अभियन्ता शशांक लामाले पुस्तकमाथि टिप्पणी गर्दै ३ दशकभन्दा लामो समय लेखक इन्द्रले गरेको त्याग, तपस्या र समर्पणको चर्चा गर्नुभयो । लेखक इन्द्रले आफ्ना सारा इच्छा र चाहनाहरुलाई दबाएर, आफ्नो जल्दो बल्दो उमेर चार्ल्स हेनरीफोर्ड र चार्ल्सको बहिनी नायिका, मोडल रुथलाई गरेको सेवाबारे कसैले पनि मापन गर्न नसकेको तर्क गर्नुभयो ।
लेखक तामाङले भने पुस्तक लोकार्पण आयोजना गरेकोमा तामाङ सासाइटी अफ अमेरिका र उपस्थित सबैलाई हार्दिक धन्यवाद दिनुभयो । रोमी एस्बीसँगको सहकार्यमा तामाङले आफ्नो आत्मकथा लेख्नुभएको हो ।
तामाङ सासाइटी अफ अमेरिकाका महासचिव शम्शेर योञ्जनले सोसाइटीले ईन्द्र तामाङको आत्मकथा लोकार्पण गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।
लेखक तामाङ, तामाङ सासाइटी अफ अमेरिकाका पूर्वअध्यक्ष तथा तामाङ साँस्कृतिक तथा बुद्धिष्ट सेन्टरका संयोजक हुनुहुन्छ । ७१ वर्षीय तामाङ गएको ५० वर्षदेखि परिवारसहित अमेरिकामा बस्दै आउनुभएको छ । २ सय ६४ पेजको पुस्तकको मूल्य २४ डलर रहेको छ । पुस्तक अमाजोनमा सजिलै किन्न सकिन्छ ।
कार्यक्रमममा नेपाली डायस्पोरामा अभियन्ता तथा अमेरिकीहरुको बाक्लो उपस्थिति थियो ।