सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाभित्रका ग्रामीण बस्ती जोड्ने सडक स्तरोन्नति हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
हरिहरपुरगढी गाउँपालिका-७ स्थित भुताहा–बरुण सडक शिलान्यास हुँदा यहाँका स्थानीय उत्साहित भएका हुन् ।
शुक्रबार एक समारोहकाबीच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन ) ले भुताहामा ग्रामीण बस्ती जोड्ने सडकको शिलान्यास गर्नुभयो ।
प्रदेश सरकार समपूरक अनुदान र हरिहरपुरगढी गाउँपालिकाको बजेटमा गाउँपालिकाकै भौगोलिक हिसावले ग्रामीण वडा मानिने ७ नम्बर वडालाई जोड्ने भुताहा–बरुण सडक शिलान्यास गरिएको हो ।
उक्त बस्तीमा बाह्रै महिना सवारीसाधन आवातजावत गर्न सहज हुने गरी सडक निर्माण गर्ने योजना अघि बढेको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सांसद दाहालले आफू निर्वाचित भइसकेपछि केही सडकहरुलाई प्राथमिकीकरण गरेर तत्काल स्तरोन्नति गरिसक्ने संकल्पका साथ विभिन्न योजना बनाइएको बताउनुभयो ।
प्राथमिकीकरण गरेका योजनाहरुको लगभग डिपिआर भइसकेको उहाँको भनाइ छ । सांसद दाहालले अहिलेको सरकारले कुनै पनि बहुवर्षीय ठेक्का सक्झौता नगरेको र सम्झौता सुरु गरेपछि आफ्ना योजनाहरु प्राथमिकतामा राख्नका लागि दबाब दिइरहेको बताउनुभयो ।
“ यो वडा निकै दूरदराजको वडा हो । यहाँका जनतालाई कसरी सहज गराउन सकिन्छ भनेर हामी जिम्मेवार भएर लागिरहेका छौँ । जताबाट बजेट तान्न सकिन्छ हामी प्रयासरत छौँ,” दाहालले भन्नुभयो । वडा नम्बर ७ को कुण्डलाई मुख्य सौन्दर्यताको फेवातालकै रुपमा स्थापित गर्न सकिने उहाँको भनाइ छ । कुण्डमा पर्यटक भित्र्याउनका लागि सौन्दर्यकरण गर्न आवश्यक रहेकोले यसका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले बागमतीबाट, पत्र्यानी, राँगेदोभान, तिलबारी हुँदै भुताहा सडक जोड्ने डिपिआर तयार गरेर सरकारसँग बजेट माग गरिसकेको जानकारी दिनुभयो ।
बिस्तारै ती योजनाअनुसार सडक निर्माण गर्ने र हाल ७ नम्बर वडा कार्यालय भुताहाबाट बरुण जोड्ने सडक निर्माण शुक्रबारबाट सुरु गरिएको उहाँले बताउनुभयो । उक्त सडक निर्माण हुँदा २ हजार घरधुरी परिवार प्रत्यक्ष लाभान्वित हुने उहाँको भनाइ छ । "मरिण गाउँपालिकाबाट बरुणसम्म ठूला सवारीसाधन चलिरहेकै छ, त्यहाँबाट ग्रामीण बस्तीमा स्तरोन्नति भए यहाँका बासिन्दाको दैनिकी सहज हुने छ," उहाँले भन्नुभयो ।
यहाँको सडकलाई निरन्तरता दिएर सर्लाहीसम्म जोड्ने योजना रहेको गाउँपालिका अध्यक्ष वाइबाले जानकारी दिनुभयो । त्यसो हुँदा मानिसको आर्थिक स्तरसमेत बढ्ने बताउनुहँदै उहाँले स्थानीय पनि यस्ता कामका लागि सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य वस्तु ल्याउन र उत्पादित कृषिजन्य वस्तु लैजान सहज हुने स्थानीयको अपेक्षा छ । केही समयपछि यहाँका नागरिकले घण्टौंसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता हट्ने कुराले स्थानीय हर्षित भएका छन् ।
सडक निर्माणका लागि गडुर कन्ट्रक्सन एण्ड सप्लायर्ससँग ६० लाख ९३ हजार ७८५ रुपैयाँ लागतमा २०८१ कात्तिक ११ गते २०८२ जेठ २५ गते निर्माण सम्पन्न हुनेगरी सम्झौता गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
निर्माण व्यवासायी प्रमोद मैनालीले गुणस्तरीय सडक समयाधिभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वडा नम्बर ७ का अध्यक्ष विचबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर वडाका अध्यक्ष कुलबहादुर भोलन, मोआवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका इन्चार्ज ज्ञानबहादुर राई, उपाध्यक्ष अजित ठाडालगायतको उपस्थिति रहेको थियो ।