सिन्धुली । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले राष्ट्रिय पुँजी निर्माणमा लाग्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
आज सिन्धुली उद्योग वाणिज्य संघको हरिहरपुरगढी गाउँपालिका शाखा गठन तथा कार्यालय उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले उद्योगमैत्री वातावरण निर्माण गर्न नवगठित शाखाले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकमा दलाल पुँजीवाद हाबी हुँदा राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसकेको उहाँको भनाइ छ । ‘नेपालमा उद्योग धेरै छैन । आयातमा निर्भर छ । भारतीय वस्तुले मात्रै ७२ प्रतिशत ओगटेको छ । आयातमा आधारित अर्थतन्त्र हाम्रो प्रमुख चुनौती हो,’ सांसद दाहालले भन्नुभयो ।
उहाँले उद्योगभन्दा बढी वाणिज्य भएको देशमा अर्थतन्त्र सबल नहुने भएकोले उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । ‘कमिसनमा आधारित अर्थतन्त्र भएकोले कसरी उत्पादन बढाउने, कसरी उद्योगधन्दा खोल्ने, कसरी अर्थतन्त्रलाई उत्पादनमूलक र रोजगारमूलकमा बदल्ने भन्ने चुनौती छ,’ उहाँले भन्नुभयो ।
पैसा लगानी गरेर पैसा कमाउने दलाल पुँजीवाद अन्त्य गर्न जरुरी रहेकोमा सांसद दाहालले जोड दिनुभयो । ‘वस्तु किनेर ल्याएर बेच्न मजदुर, कच्चापदार्थ र उद्योग चाहिँदैन । आन्तरिक पुँजी निर्माण गर्न उद्योग नै चाहिन्छ । उद्योग सञ्चालन गर्न श्रमिक चाहिन्छ, श्रमिकले रोजगारी पाउँछ । कच्चापदार्थ जोडिन्छ । तयारी माल उत्पादन गर्छ, अनिमात्र राष्ट्रिय पुँजी निर्माण हुन्छ,’ दाहालको भनाइ छ ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले शाखा गठन गरेर मात्रै नहुने सक्रिय भएर लाग्नको लागि नवगठित समितिलाई आग्रह गर्नुभएको छ । उहाँले अव गाउँपालिका सहरीकरण तिर लम्कदै गरेकोले उद्योगी र व्यापारीले तदारुकताका साथ लाग्नको लागि आग्रह गर्नुभएको हो ।
गाउँपालिकालाई उद्योगमैत्री वातावरण निर्माणका लागि आवश्यक कानुन निर्माण र उद्योगीको सुरक्षाको निर्माणमा आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।
उद्योग वाणिज्य संग सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले उद्योगमैत्री नीति, कानुन नहुनुका साथै उद्योगीको लगानी सुरक्षामा चुनौती रहेका कारण उद्योगको विकास हुन नसकेको बताउनुभयो । ‘उद्योग वाणिज्य संघले उद्योगमैत्री वातावारण बनाउन अगुवाई गर्नुपर्छ । उद्योगी बन्ने संस्कार सिकाउनुपर्छ, उद्योग स्थापनाका लागि सहयोग गर्नुपर्छ, विश्वासको वातावरण निर्माण गरिदिनुपर्छ,’ श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, उद्योग बाणिज्य संघ सिन्धुलीका उपाध्यक्ष बिरबल चौधरी, उद्योग बाणिज्य संघ मरिणका अध्यक्ष चिनध्वज बम्जन,वडा अध्यक्ष तथा पार्टी प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
उद्योग बाणिज्य संघ सिन्धुलीको हरिहरपुरगढी शाखाको तदर्थ समितिको अध्यक्षमा कुल बहादुरभोलन,उपाध्यक्षमा टंक राई,पुष्पराज मोक्तान, सचिवमा सन्तोष आले मगर, सहसचिव श्रवण मुक्तान, कोषाध्यक्षमा सुनिल वाइबा सहित १३ जनाको समिति गठन गरिएको छ ।