काठमाडौं । सोनाम ल्होछारको तयारी पुरा तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको तयारी पुरा भएको छ । मञ्जुश्री संम्वद–२८६१ सोनाम ल्होछार भब्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं भन्ने मुल नाराका साथ काठमाडौंस्थित टुँडिखेलमा मनाईने ल्होछारको तयारी पुरा भएको हो ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सोनाम ल्होछार मुल आयोजक समितिले यस वर्ष पनि हर्षोउल्लासका साथ ल्होछार मनाउनका लागि तयारी पुरा भएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै तामाङ घेदुङका महासचिव जगत दोङले मंगलबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा ताम्बा, लामा, बोन्बोद्धारा पुजापाठ तथा शुभकामना आदानप्रदान गरेर ल्होछार सुरु हुने बताए । ‘ल्होछार शहर, बजार, चोक र होटलमा मात्र पुग्यो, घर घरमा पुग्न सकेन भन्ने आरोप हामीलाई लाग्ने गरेको छ । हामी घर घरमा पनि ल्होछार मनाउँछौं । बिहिबार बिहानै आपाआमाको हातबाट टिका र आर्शिवाद लिएर ल्होछार मनाउन सुरु गछौं । ल्होछारको दिन टुँडिखेलमा राम्रै उपस्थिति हुन्छ भन्ने लागेको छ,’ महासचिव दोङले भने ।
तीन दिने साँस्कृतिक महोत्सवमा बुधबार टुँडिखेलमा राष्ट्रिय कलाकारहरुद्धारा साँस्कृतिक प्रस्तुति, पुजापाठ, र साँझ डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षको स्वागत स्वरुप ल्होछार इभ गरिनेछ । बिहिबार बिहान ११ बजेदेखि ताम्बा, लामा, बोन्बोको झाँकीसहित शान्ति र्यालीले टुँडिखेल परिक्रमा गर्नेछ । दिउँसो १ बजेदेखि ल्होछारको उुदघाटन समारोह, शुभकामना आदानप्रदान, ख्यातीप्राप्त कलाकारद्धारा साँस्कृतिक प्रस्तुतिका साथ ल्होछार महोत्सव सम्पन्न हुनेछ ।
सो दिन स्टेजको दायाँबायाँ ताम्बा, लामा, बोन्बोको परम्परागत सामग्रीसहितको लाइभ स्टल रहनेछ । भने स्वास्थ्य शिविर र तामाङ तथा आदिवासी जनजाति सम्वन्धी पुस्तकहरु समेत राखिनेछ । ल्होछार माघ शुुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मनाउने भएपनि विशेष गरेर तामाङ समुदायले पाँच दिनसमम भव्य रुपमा मनाउने प्रचलन रहेको छ ।
कार्यक्रम कार्यतालिका
१. मिति २०८१ माघ १५ गते विहान ८:३० बजेदेखि सम्माननीय राष्ट्रपति ज्यूको कार्यालय शितल निवासमा ताम्बा, लामा, बोन्बोद्वारा पूजापाठ तथा शुभकामना आदानप्रदान गरिनेछ ।
२. मिति २०८१ माघ १६ गते काठमाडौंस्थित टुँडिखेलमा राष्ट्रिय कलाकारहरूद्वारा सांगितिक प्रस्तुति, पूजापाठ र साँझ डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षको स्वागत स्वरुप ल्होछार इभ गरिनेछ।
३. मिति २०८१ माघ १७ गते विहान ११:०० बजेदेखि ताम्बा, लामा, बोन्बोको झाँकीसहित शान्ति ऱ्यालीले टुँडिखेल परिक्रमा गर्नेछ । यसैगरी दिउँसो १:०० बजेदेखि ल्होछार समारोहको समुद्घाटन समारोह, शुभकामना आदानप्रदान, चर्चित तथा ख्यातीप्राप्त कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति आदि सम्पन्न गरिनेछ ।
४. यस वर्ष तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा कार्यान्वयन गर्न आफ्नो कार्यकालमा विशेष भूमिका खेल्नुहुने बागमती प्रदेशका पूर्व संस्कृति मन्त्री तथा माननीय सांसद शैलेन्द्रमान बज्राचार्यसहित विभिन्न विद्यामा उत्कृष्ट कार्य गरी तामाङ समुदायको शीर उच्च राख्न महत्वपूर्ण योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई राष्ट्रिय सम्मान गरिनेछ ।