काठमाडौं । पूर्वअर्थमन्त्री एवं राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनीले सरकारबाट जनतालाई डेलीभरी नदिई अरुलाई गाली गरेर मात्र ठूलो भइन्छ भन्ने भ्रमणबाट चाँडो मुक्त हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनक्रममा सरकारको उपलब्धि तथ्य र तर्कहीन राखेको भन्दै लोहनीले ओली सरकारको पात सुक्कै गएकोसमेत टिप्पणी गर्नुभयो । 'प्रधानमन्त्रीजी छ महिना जतिको समयको अवधि भनेको लामो समय हो । हुने बिरुवाको चिल्लो पात भन्छन् । याद राख्नुस् तपाईंको छ महिनामा पात झन् सुकेर गएको छ,' उहाँले भन्नुभयो, 'प्रधानमन्त्रीको पदमा बसेर अरुलाई गाली गर्दैमा ठूलो भइन्छ भन्ने भ्रमबाट चाँडो मुक्त हुनुहोस् । तपाईंको सरकारको "डेलिभरी" छैन ।'
अर्थतन्त्रमा सुधार भएको प्रधानमन्त्रीले दाबी गरे पनि तथ्यमा त्यस्तो नरहेको नेता लोहनीले तर्क अघि सार्नुभएको छ ।
१ देशमा ऋणको भार निरन्तर बढ्दै छ
२ ऋणको भार बढ्दै गएपछि विकास बजेटभन्दा बढी ब्याजको भार हुनेछ
३ राजस्व लक्ष्यभन्दा धेरै तल छ
४ सरकारको पुँजीगत लगानी गर्ने क्षमतामा सुधारको कहीं संकेत छैन । अमेरिकाजस्तो धनी देशले त खर्च बढी भयो भनेर दुई खर्ब डलर खर्च कटाउने आँट गर्दैछ भने यो सरकारको सुशासनमा साधारण खर्च कटाएर विकासमा लगानी गर्ने चिन्तन कहींकतै छैन ।
५ बिदेशी मुद्राको सञ्चिति बढेको छ तर यसको सदुपयोग पुँजी निर्माणमा कसरि गर्ने भन्नेबारे सरकार शून्य छ ।
६ युवाहरु १० जोड २ पास गरेपछि देश छोड्दै छन् । उच्च शिक्षाका कलेजहरु विद्यार्थी नपाएर निरास हुँदै छन तर सुधार गर्ने लक्षण कहींकतै छैन । नेपालका शासक वर्गले यसको वास्ता छैन किनभने उनीहरुका सन्तान सबै अमेरिका र अस्ट्रेलियमा पढ्दै छन् गरिबका सन्तानको यो सरकारलाई के मतलब ? उल्टो त्रिभुवन विश्वविद्यालयसमेत धमिरोले खाएको घर जस्तो लद्खडाउँदो अवस्था मा छ ।
७ आईटी प्रोत्साहन गर्न लिएको नीति प्रशंसा योग्य छ । तर यसको कार्यान्वयनमा पनि कुत् खाने प्रवृत्ति आयो भने अर्को संकट हुनेछ ।