ललितपुर । ललितपुरस्थित होटल हिमालयको आधिकारिक ट्रेड युनियनको आगामी चैत १४ मा हुने चुनावका लागि माओवादी केन्द्र र एमालेनिकट मजदुर संगठनबीच गठबन्धन भएको छ ।
माओवादी निकट अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ र एमालेको नेपाल स्वतन्त्र होटल मजदुर युनियन संयुक्त प्यानल बनाएर चुनावमा होमिन लागेका हुन् । अध्यक्षको प्रत्यासीमा गठबन्धनतर्फबाट साझा उम्मेदवार माओवादी निकट संघका ऋषिराम भण्डारीलाई अघि सारिने भएको छ ।
अध्यक्षका प्रत्यासी भण्डारीले आफ्नो प्यानल विजयी भएमा मजदुरमैत्री प्रतिष्ठान बनाउन पहल गर्ने, होटलबाट प्राप्त सेवा सुविधा सबैलाई समान रुपमा प्रदान गर्न पहल गर्ने, नयाँ श्रमिक साथीहरूलाई श्रम ऐन अनुसारको सेवा सुविधा दिलाउनुका साथै पुराना श्रमिकसरह सुविधा दिलाउन पहल गर्ने, पुराना तथा नयाँ श्रमिकहरुलाई उचित कामको उचित मूल्यांकन गर्न विभिन्न कार्यक्रमको आयोजना गर्न पहल गर्ने, खाजा,खाना र यातायातलाई अझ प्रभावकारी बनाउन पहल गर्ने योजना रहेको बताउनुभयो । यस्तै प्रमोसन र ग्रेड वृद्धिलाई थप सुदृढीकरण गर्दै लैजाने, नियमित रोजगारीलाई नियमित बनाउन पहल गर्ने र एक विभागबाट अर्को विभागमा सरुवा, बढुवा गर्नको निमित्त आवश्यक पहल गर्ने एजेन्डा रहने उहाँले जानकारी दिनुभयो ।
उहाँले सन् २००४ देखि निरन्तर होटल हिमालयकै युनियनको इकाइ हुँदै उपाध्यक्ष,अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ । यसअघि होटल हिमालयको आधिकारिक ट्रेड युनियनकै उपाध्यक्षको पद सम्हालिसक्नुभएका भण्डारी पार्टीनिकट अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघको केन्द्रीय सचिव हुनुहुन्छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ निवासी भण्डारी लचक, समझदार स्वभावका हुनुहुन्छ । उहाँले कांग्रेस निकट नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।
ट्रेड युनियन चुनावबाट ११ जना सदस्यीय कार्यसमिति चयन हुनेछ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित बाँकी सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा १ सय ५० भन्दा बढी मतदाता छन् ।
ट्रेड युनियनको हरेक दुई वर्षमा निर्वाचन हुने कानुनी व्यवस्था रहेको छ ।