घलेभन्ज्याङ (नुवाकोट)। जिल्लाको पञ्चकन्या गाउँपालिका-३ घलेगाउँमा सामुदायिक भवनको शिलान्यास गरिएको छ ।
प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङले बिहीबार एक समारोहबीच घलेगाउँ साँस्कृतिक केन्द्रको सामुदायिक भवन शिलान्यास गर्नुभएको हो । त्यसअघि लामागुरु शेरबहादुर तामाङले पूजापाठ गर्नुभएको थियो ।
नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रहनुभएको बेला स्थानीयको मागअनुसार ससर्त संघीय अनुदानअन्तर्गत ६३ लाख रुपैयाँ बजेट विनियोजन गर्नुभएको हो । उक्त बजेटमार्फत ९ लाख रुपैयाँमा १ रोपनी जग्गा खरिद गरेर सामुदायिक भवन निर्माण प्रक्रिया अगाडि बढाइएको घलेगाउँ साँस्कृतिक केन्द्रका अध्यक्ष लालबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको लागत अनुमान भने ७० लाख रुपैयाँ रहेको छ ।
सांसद तामाङले सरोकारवाला उपभोक्ताको नेतृत्वमा निर्माण हुन लागेको सामुदायिक निर्माण सहज ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तामाङ र क्षत्री समुदायको पायक पर्ने ठाउँमा सामुदायिक भवन निर्माण हुन लागेकाले व्रतबन्ध,विवाह, पूजापाठजस्ता सामाजिक काम र सामाजिक संघ संस्थाको बैठक, भेलाजस्ता कार्यक्रमका लागि उपयोगी हुने बताउनुभयो ।
उपाध्यक्ष विमला केसी पाठकले स्थानीय समुदायका लागि अत्यावश्यक सामुदायिक भवन र अन्य क्षेत्रका लागि बजेट विनियोजन गरिदिएकोमा पूर्वमन्त्री तामाङलाई धन्यवाद दिनुभयो । उहाँले सामुदायिक भवन निर्माण भएपछि स्थानीयलाई निकै लाभदायी हुने अपेक्षा राख्नुभयो ।
कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका निर्वाचित अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसी पाठक, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमनारायण महतो, वडा नम्बर ३ का अध्यक्ष रामबाबु पराजुली, माओवादी केन्द्र पञ्चकन्याका अध्यक्ष छिरिङ दोर्जे तामाङ, गाउँपालिकामा कार्यरत प्राविधिक सुजन कार्की, कृषि प्राविधिक रमेश तामाङ, तलाङ्ज्योहोलिङ गुम्बाका प्रमुख लामा शेरबहादुर तामाङ, माओवादी केन्द्र वडा ३ का वडाध्यक्ष रामबहादुर विष्ट, माओवादी वाग्मती प्रदेश कमिटी सल्लाहकार कृष्णबहादुर तामाङ, वाग्मती प्रदेश सदस्य तथा माओवादी पञ्चकन्याका इन्चार्ज रत्न सुनार,वाग्मती प्रदेश सदस्य सुशीलसिंह ठकुरी, माओवादी पञ्चकन्या सहइन्चार्ज मणिनाथ लामिछाने, पञ्चकन्या जनकल्याण युवा समाजका अध्यक्ष टीकाराम तामाङ, साविक पञ्चकन्या गाविस २ का वडाध्यक्ष चतुरमान तामाङ, पञ्चकन्या ३ का वडा सदस्य मानबहादुर तामाङ, पञ्चकन्या ४ का स्वास्थ्य चौकी इन्चार्ज मिनबहादुर तामाङ, प्रेस सेन्टर पञ्चकन्याका संयोजक प्रदीपकुमार दाहाललगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार, स्थानीयलगायतको उपस्थिति थियो ।
केन्द्रका अध्यक्ष लालबहादुरको अध्यक्षतामा भएको कार्यक्रम सचिव कमन तामाङले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष आइत तामाङले राख्नुभएको थियो ।

