सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिको पञ्चकन्यामा माझी समुदायको राष्ट्रिय संस्कृति सङ्ग्रहालयको आज शिलान्यास गरिएको छ । पालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा सांसद लेखनाथ दाहाल (राजन) ले सङ्ग्रहालयको शिलान्यास गर्नुभएको हो ।
सङ्घीय सरकारको कुल ५५ लाख लागतमा सङ्ग्रहालय भवन निर्माण थालिएको हो । सांसद दाहालले भवन समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्दै अपुग बजेट आगामी वर्षहरूमा थप गर्न पहल गर्ने बताउनुभयो । सङ्ग्रहालयको भवन निर्माण यस आर्थिक वर्षभित्र सम्पन्न गरिने छ ।
सङ्ग्रहालयमा माझी समुदायको संस्कृतिको पाटोलाई विशेष जोड दिइने छ । नेपालको माझी समुदायको महत्वपूर्ण र ऐतिहासिक संस्कृतिको बारेमा जानकारी दिइनेछ । नेपालको माझी समुदायको सयौँ वर्ष देखिको इतिहास झल्किने बस्तुहरू राखिने छ । जसले गर्दा नयाँ पुस्ताले माझी समुदायको इतिहास र संस्कृतिको बारेमा सहजै बुझ्न पाउनेछन् ।
नेपालमै माझी समुदायको धेरै बसोबास वडा नम्बर ५ पञ्चकन्यामा भएको र हर हिसाबले मरिणनै उपयुक्त भएको हुँदा सङ्ग्राहालय निर्माणमा लागिएको अध्यक्ष मोक्तानले बताउँनुभयो । सङ्ग्राहालय निर्माण पछि पञ्चकन्याको विकासमा वृद्धि हुने पालिकाको विश्वास रहेको छ । राष्ट्रिय संस्कृति सङ्ग्राहालय आफ्नै ठाउँमा स्थापना हुने भएपछि माझी समुदाय उत्साहित भएका छन् ।
ऐतिहासिक स्थल पञ्चकन्या पोखरीको विकासको लागि पालिका अध्यक्ष आफै सचिवालय निर्माण गरेर निरन्तर लागिरहनु भएको छ । सङ्ग्राहालय निर्माण पछि माझी समुदायको भाषा, संस्कार , संस्कृति लोप हुँदै गइरहेको समयमा सङ्ग्राहलयले ठूलो टेवा पुग्ने देखिन्छ । माझीको आफ्नै वेशभूषा, भाषा र संस्कृति छन् ।
२०७८ सालको जनगणना अनुसार नेपालका ६३ जिल्लामा एक लाख ११ हजार ३५२ माझीको बसोबास रहेको छन् ।
सङ्ख्यामा कमी हुनु, अनेक कारणले मूलधारमा आउन नसक्नु, राज्यले प्रोत्साहन नगर्ने कारणले ती चाडपर्व माझी समुदायमा मात्रै सीमित बनिरहेका छन् तर पछिल्लो समय स्थानीय तहले माझीका चाडपर्व प्रवर्धन गर्नमा जुटेको देखिन्छन् ।