काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने पक्षमा नरहेको बताउनु भएको छ ।
सोमबार सिंहदरबारमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै सभापति खतिवडाले यस्तो बताउनु भएको हो ।
‘यो ऐन प्रारम्भ भएपछि अवकाश भई निवृत्तिभरण वा पारिवारिक निवृत्तिभरण पाइरहेको व्यक्ति भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत कीर्ते, राज्यविरुद्धको अपराध, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्विक वस्तुको बेचबिखन, मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी, बहुबिवाह वा नैतिक पतन देखिने जस्तो गम्भीर प्रकृतिको मुद्दामा निवृत्तिभरण (पेन्सन) दिनुपर्छ भन्ने पक्षमा समिति छ जस्तो लाग्दैन । यो कुरामा समिति तयार छैन,’ सभापति खतिवडाले भन्नुभयो ।
उहाँले राज्य कोषबाट दोहोरो सुविधा लिनुहुन्न भन्नेमा समितिका सदस्यहरू एकमत रहेको बताउनुभयो । सभापति खतिवडाले कुलिङ पिरियडले आवश्यक भएको तर यस विषयमा समितिका सदस्यहरूको निर्णयलाई मान्यता दिने बताउनुभएको छ ।