नुवाकोट । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पञ्चकन्या गाउँपालिका ४ मा अवस्थित घ्याङ्स्वाँरा सहिद स्मारक पर्यटकीय पार्क तथा खेल मैदान अवलोकन गर्नुभएको छ ।
योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल नुवाकोट जिल्ला समन्वय समितिको चौथो ऐतिहासिक सम्मेलनमा सहभागी हुन नुवाकोट आउनेक्रममा पूर्वगृहमन्त्री श्रेष्ठ घ्याङ्स्वारा अवलोकनमा पुग्नु भएको हो । राष्ट्रियसभा सदस्यसमेत रहनुभएका श्रेष्ठ,पूर्वमन्त्री एवं संघीय सांसद हितबहादुर तामाङ,कानुन न्याय तथा मानवअधिकार संसदीय समितिकी सभापति विमला सुवेदी,वाग्मती प्रदेशसभाकी निवर्तमान उपसभामुख एवं वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङ,वाग्मती प्रदेशसभा सदस्य रामप्रसाद ढुंगाना,नुवाकोट जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रम सिङ ठकुरीलगायत घ्याङ्स्वाँरा पुग्नुभयो । उहाँहरुलाई पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला पाठक केसी, माओवादी केन्द्र पञ्चकन्या, वाईसीएल, स्थानीय, कर्मचारीलगायतले स्वागत गरेका थिए ।
पार्क र खेलमैदान अवलोकनका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठलगायतले जनयुद्धको क्रममा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाबाट सहादत प्राप्त गर्ने अमर शहीदहरुप्रति श्रद्धा-सुमन अर्पण गर्नुभयो ।
पञ्चकन्या ३ को घलेभन्ज्याङमा पञ्चेबाजासहित भव्य स्वागतपछि वरिष्ठ उपाध्यक्ष, संघीय सांसद तामाङ, सुवेदीलगायत घ्याङ्स्वारा पुग्नुभएको थियो । घ्याङ्स्वारा पार्क निर्माणका विषयमा पालिका अध्यक्ष, संघीय सांसद तामाङलगायतले वरिष्ठा उपाध्यक्षलाई जानकारी गराउनुभएको थियो । पञ्चकन्या गाउँपालिका पूर्वमन्त्री हितबहादुर तामाङको गृह पालिका पनि हो । सांसद तामाङले पछिल्लो दुई निर्वाचनमा निरन्तर विजयी हासिल गर्नुभएको भने गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका वाग्मती प्रदेश सदस्य तेजबहादुर तामाङले पनि दोस्रो कार्यकाल गाउँपालिकाको नेतृत्व सम्हालिरहनुभएको छ ।






