सिन्धुली । नेकपा माओवादी केन्द्रका युवा सङ्गठन योङ कम्युनिष्ट लिग वाइसिएल नेपाल हरिहरपुरगढीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सोमबार सम्पन्न भेलाले गुण मगरको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा नेत्र बज्यु, मानध्वज बम्जन र योगिता बम्जन, सचिवमा मिलन सेन्चुरी, सहसचिवमा दीपेन्द्र घिमिरे, दीपेश पाख्रिन र सुरेश योञ्जन तथा कोषाध्यक्षमा अनमेश राई चयन हुनुभएको छ । नयाँ कार्यसमिति ४५ सदस्यीय रहेको छ ।
सम्मेलनको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज बसन्त माझीको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका सिन्धुली संयोजक पानीराज बम्जन, वाग्मती प्रदेश सदस्य बज्रध्वज वाइबाको उपस्थितमा सम्पन्न भएको हो ।
सम्मेलनलाई सम्बोधन गर्नुहुँर्दै प्रमुख अतिथि माझीले हरिहरपुरगढीको गाउँ, टोल, वडावडामा उदाहरणीय विकासका काम भएको बताउनुभयो । उहाँले गाउँपालिकाका जनप्रतिनिधिले गरेको विकासको कामलाई जनतामा पुर्याउने काम वाइसिएलले गर्नुपर्नेमा जोड दिनुभयो । आगामी निर्वाचनमा एकताबद्ध भएर हरिहरपुरगढीको आठवटै वडामा माओवादी केन्द्रको एकलौटी जित सुनिश्चित गर्नका लागि भोलिबाटै जागरण अभियान सुरु गर्न उहाँले बाइसिएल आग्रह गर्नुभयो ।
माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बम्जनले राजनीतिमा एक अर्काको अस्तित्व स्वीकार्न सकेमात्रै एकताबद्ध हुने बताउनुभयो । उहाँले एकताबद्ध भएर अर्को चुनावमा पार्टीलाई नम्बर १ बनाउनका लागि वाइसिएलको ठूलो भूमिका रहने बताउनुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्र वाग्मती प्रदेशका सदस्य बज्रध्वज वाइबाले वाइसिएले थप क्रियाशील बनाउनुपर्ने बताउनुभयो । उहाँले अधिवेशनको समयमा मात्रै तँछाडमछाड गरेर पद रोज्ने तर अन्य समयमा निष्क्रिय रहने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । वाइसिएल पार्टीको जिम्मेवार संस्था रहेकोले निष्क्रिय रहन नसुहाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका वाग्मती प्रदेश सदस्य बाबुराम राई, माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीका अध्यक्ष अजित ठाडा मगर, उपाध्यक्ष अनिता राई, मोक्तान, सचिव मोहनकाजी विश्वकर्मा, सहसचिव धनबहादुर मोक्तान, कोषाध्यक्ष रमेश घलान, जिल्ला कमिटी सदस्य कमलकुमार राई वाइसियल केन्द्रीय सचिव राजकुमार श्रेष्ठ , वाइसिएल जिल्ला इन्चार्ज चिरञ्जीवी दाहाल लगायतको उपस्थिति रहेको थियो । साथै आज विभिन्न पार्टी परित्याग गरी एक दर्जन युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।