काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको वाग्मती प्रदेश अधिवेशन शनिबार काठमाडौंमा हुँदै छ । बौद्ध नयाँ बस्तीस्थित ड्रिम हाउस बैंङ्केटमा मध्याह्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको मोर्चाका केन्द्रीय महासचिव लीलाकुमार घलानले जानकारी दिनुभयो ।
अधिवेशन उद्घाटन र बन्दसत्रको तयारीबारे शुक्रबार वाग्मती प्रदेश सम्मेलन आयोजक समितिको बैठक बसेको छ । मोर्चाका इन्चार्ज रहेका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा बसेको बैठकले निर्वाचन मण्डल गठन, अधिवेशनअघि निकालिने र्यालीको रुट निर्धारण र हालसम्मको तयारीबारे छलफल भएको महासचिव घलानले जानकारी दिनुभयो ।
कर्म लोप्साङ लामाको अध्यक्षता बसेको बैठकमा तामाङ मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ, उपाध्यक्षहरु, महासचिवलगायत विभिन्न जिम्मेवारीमा रहेकाहरुको उपस्थिति थियो । बैठकले रक्षाबहादुर तामाङको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ । सदस्यहरुमा मिलन लामा तामाङ, राममाया तामाङ, सुकसागर तामाङ र उषा वाइबा रहनुभएको छ ।
महासचिव घलानका अनुसार भक्तपुर, काभ्रे, सिन्धुली, दोलखा, रामेछाप र सिन्धुपाल्चोकबाट सहभागी प्रतिनिधि जडिबुटीमा जम्मा भएर पेप्सीकोला हुँदै एयरपोर्ट पछाडिबाट नयाँ बस्ती पुग्ने, धादिङ, चितवन, मकवानपुर र ललितपुरका सहभागीहरु पशुपति गैरीघाटमा जम्मा भएर कार्यक्रमस्थल जाने र रसुवा, काठमाडौं र नुवाकोटका प्रतिनिधि तथा सहभागी बौद्ध पीपलबोटमा जम्मा भएर र्यालीसहित अधिवेशनस्थल भेला हुने तीन ठाउँबाट हुने र्यालीको रुट तय गरिएको छ ।
अधिवेशनको प्रचारप्रसार, मञ्च व्यवस्थापन, स्वयंसेवकलगायत प्राय: तयारी भइसकेको आयोजकले जनाएको छ । महासचिव घलानले सकेसम्म सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने तयारी छ । अधिवेशनले ९ पदाधिकारीसहित नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्ष, उपाध्यक्ष ३, सचिव, उपसचिव ३ र कोषाध्य चयन हुनेछन् ।
विधानले ५१ देखि १ सय ४५ जनासम्मको बनाउने व्यवस्था भए पनि सकेसम्म दुई अंक नबढ्ने गरी चुस्त कमिटी खडा गर्ने तयारी रहेको महासचिव घलानले जनाउनुभयो । अधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक गरी १ हजार हाराहारीमा सहभागी हुने आयोजकले जनाएको छ ।