काठमाडौं । राष्ट्रिय युवा परिषद्ले युथ भिजन २०३५ का लागि सरोकारवालाहरुसँग छलफल प्रारम्भ गरेको छ। सन् २०१५ मा जारी गरिएको थुथ भिजन २०२५ को समयावधि सकिन लागेकाले आउँदो दश वर्षका लागि नयाँ युथ भिजन निर्माण गर्न छलफल अगाडि वढाइएको परिषद्ले जनाएको छ।
शनिबार उपत्यकामा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युथ भिजन २०२५ को समीक्षा गरी सवै सरोकारवालाहरुसँगको छलफलपछि नयाँ युथ भिजन जारी गरिने बताउनुभयो । मन्त्री चौधरीले नेपाली युवाका नयाँ आवश्यकता र चाहना समेटेर युथ भिजन तयार गरिने बताउनुभयो ।
पहिलो चरणमा उपत्यकाका भर्खरै निर्वाचित स्ववियु अध्यक्ष सहितका पदाधिकारीहरुको सहभागितामा भएको नीतिगत छलफलमा युथ भिजन -२०२५ निर्माण कार्यदलका संयोजक योगेन्द्र शाहीले ' युथ भिजन -२०३५ मा युवाका सरोकार ' शीर्षकमा कार्यपत्र पेश गर्नुभएको थियो । कार्यपत्रमा शाहीले युवाको सर्वाङ्गिण विकास गरी देशको सामाजिक आर्थिक रुपान्तरणमार्फत समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सघाउ पुर्याउने लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय युवा परिषदका पूर्वउपाध्यक्ष समेत रहेका एमाले युवा नेता माधवप्रसाद ढुङ्गेलले युथ भिजन २०२५ को विहङ्गम समीक्षा गरेर मात्र नयां तर्फ अघि बढ्नुपर्ने सुझाव दिनुभयो। ढुङ्गेलले नेपाल सरकारका विभिन्न मन्त्रालयमा रहेका युवा लक्षित् कार्यक्रमलाई समन्वय गरेर अघि बढाउनुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका युवा नेता नैनसिंह महरले अबको युथ भिजनले नेपाली युवाका आवश्यकतालाई सम्वोधन गर्नुपर्ने बताउनुभयो । महरले शिक्षालाई श्रम, सिप र प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रका युवा नेता रमेश मल्लले युवा पलायन रोक्नका लागि उद्यशीलता र स्वरोजगारमा जोड दिनुपर्ने बताउनुभयो । मल्लले युवाहरुले मुलुकभित्रै भविश्य देख्नसक्ने वातवरण बनाउनुपर्नेमा जोड दिए। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि लम्सालले सवै सरोकारवालाहरुसँगको बृहत् छलफल र अन्तरक्रियापछि समयसापेक्ष युथ भिजन जारी गरिने बताउनुभयो ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले दिगो विकास लक्ष्य पूरा गर्न युवा सशक्तिकरणमा जोड दिनुभयो । उहाँले युथ भिजन २०३५ निर्माणको छलफल प्रारम्भ गरिएको जानकारी दिँदै सबै क्षेत्रका युवाहरुसँग फरकफरक छलफल र अन्तरक्रिया गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटी, परिषद् सदस्यद्वय विनोद शाही र टिका कँडेल, त्रिभुवन विश्वविद्यालयका स्ववियु अध्यक्ष दिपकराज जोशी, नेपाल ल क्याम्पसका स्ववियु अध्यक्ष समिर रिजाल, पुल्चोक क्याम्पसका स्ववियु अध्यक्ष स्वयम् श्रेष्ठ, सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष नरेन्द्र ठगुन्ना लगायतका स्ववियु पदाधिकारीहरुले युवामैत्री युथ भिजनमा निर्माणमा आआफना सुझाव र धारणा राख्नुभएको थियो ।
