काठमाडौँ । शुकदेव राई उमेरले ५६ वर्ष हुनुभयो । काठमाडौंको दरबारमार्गमा रहेको रैथाने कृषि बजारमा आफ्नो जागरण कृषि समूहले उत्पादन गरेको तरबुजा बेच्न व्यस्त हुनुहुन्छ । ४ बिगाहा जमिनमा रोपेको तरबुजाको उत्पादन कस्तो होला, बजार पाउँला कि नपाउँला भन्ने पिर थियो । अझ तरबुजा गाडी चढेर काठमाडौंको निकै नामी ठाँउ दरबारमार्गमा बिक्री होला भन्ने कुरा त उहाँको सोचाइ भन्दा बाहिरको थियो । निकै खुशी हुनुहुन्छ ।
उहाँ व्यवसायीक रुपमा कृषिमा लाग्नु भएको मात्रै ४ वर्ष भयो । स्थानीय सरकार आएपछि प्रत्यक्ष जोडिने मौका मिले पछि सिजन अनुसारको कृषि व्यवसाय गर्दै आउँनु भएको छ । सन्तान अहिले आ आफ्नो पेशा व्यवसायमा व्यस्त छन् । शुकदेवका श्रीमान श्रीमतीको जीवनयापन यही कृषि व्यवसायबाट भइरहेको बताउनुहुन्छ ।

जागरण कृषि समूहमा १२ जना सदस्य छन् । शुकदेव समूहका सचिव हुनुहुन्छ । यो सिजनमा अहिले सम्म ३ लाख जतिको तरबुजा बिक्री भएको उहाँ बताउँनुहुन्छ । कृषिमा व्यवसायिक बन्न पालिकाको कृषि शाखाले तालिम, कृषि औजार देखि बजार सम्म उत्पादन गरेको बस्तु पनि बिक्री वितरणमा सहयोग गर्दै आइरहेको छ ।
जागरण कृषि समूहले उत्पादन गरेको तरबुजा बिक्री वितरणको लागि पालिका अध्यक्ष, कृषि शाखा देखि गाउँपालिकाका कर्मचारीहरू पनि प्रत्यक्ष रुपमा उपस्थित हुनुहुन्थ्यो । सरस्वती जातको तरबुजा दरबारमार्गको कृषि रैथाने बाली बजारमा बिक्री गर्दा धेरैको रोजाईमा परेको थियो ।

कृषि शाखा प्रमुख प्रवेश देवकोटाका अनुसार हरिहरपुरगढीमा ४ बिगाहा जनमा खेती गरिएको छ । अघिल्लो वर्षहरूमा तरबुजाको बिरुवा वितरण गरिएको थियो तर उत्पादन कति भयो भन्ने एकिन नहुँदा यसवर्ष भने जागरण कृषि समूहलाई तरबुजा खेतीको लागि अघि सारिएको हो ।
बाग्मती प्रदेश सरकारबाट ससर्त अनुदान ६ लाख प्राप्त गरेको थियो भने गाउँपालिकाले कार्यक्रम संचालन गर्दा १२ लाखको गरिएको प्रमुख देवकोटाले बताउँनुभयो । आजको मिति सम्म १० हजार किलो तरबुजा बिक्री भइसकेको छ भने अझै ४० हजार किलो फिल्डमै रहेको देवकोटाले बताउनुभयो ।
जागरण कृषक समूहले गरेको तरबुजा खेती पालिकाको वृहत कृषि कार्यक्रम हो खेतीको लागि आवश्यक सबै कुरा पालिकाले उपलब्ध गराएको थियो । पालिकाले आँप, एभोकाडो, बेमौसमी तरकारी खेतीमा पालिकाले सहयोग गर्दै आइरहेको छ भने परीक्षणको लागि पनि पालिका आफैले कृषि खेती गर्दै आइरहेको छ ।
दरबारमार्गमा राखिएको हरिहरपुरगढीको कृषि उत्पादनलाई नेकपा माओवादी केन्द्र बाग्मतीमा अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्री, नेकपा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष पानीराज बोम्जनले अवलोकन गर्नुभएको थियो । साथै गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवा गाउँपालिकाका कर्मचारी विजय तामाङ, दीपक कार्की, शाखाका प्रमुख प्रवेश देवकोटा लगायतका व्यक्तिहरूको प्रत्यक्ष सहभागितामा अर्गानिक उत्पादनको जानकारी गराउँदै बिक्री वितरण गरिएको थियो ।
अध्यक्ष वाईवाले बिस्तारै गाउँका युवाहरू बाहिरीने क्रम बाढ्दै गईरहेको हुँदा पालिकाले व्यवसायीक कृषिलाई प्राथमिकतामा राखिएको बताउनुभयो । तरबुजा खेतीले कृषि व्यवसायमा थप सफलता प्राप्त भएको उहाँको भनाई छ ।
कृषि व्यवसायमा लाग्ने नागरिकलाई पालिकाले सकेको सहयोग र सहकार्य निरन्तर गरिने पनि प्रतिबद्धता जनाउनु भएको छ ।