काठमाडौं । जिग्मे मिडिया प्रोडक्सन र इन्डिजिनियस टेलिभिजनको संयुक्त प्रस्तुति रहेको 'डम्फू सेलो' टेलिभिजन कार्यक्रमको प्रथम वार्षिकोत्सव मनाइएको छ ।
काठमाडौंमा आइतबार रात्रिभोजसहित आयोजित कार्यक्रममा प्रायोजक, कलाकार, वाद्यवादकलगायतलाई सम्मान, सांस्कृतिक प्रस्तुतिसहित 'डम्फू सेलो'को वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा उपस्थित धर्मगुरुङ, मन्त्री, विभिन्न दलका नेता, सांसद, व्यवसायी,समाजसेवी,संघसंस्थाका अगुवाहरुले डम्फु सेलो प्रस्तुति निकै राम्रो रहेकोमा प्रशंसा गर्दै निरन्तरताको शुभकामना दिनुभयो ।
इन्डिजिनियस टेलिभिजनका अध्यक्ष देवकुमार सुनार टोलिभिजन आदिवासी जनजाति समुदायको आवाज बुलन्द पार्न सञ्चालनमा ल्याइएको उल्लेख गर्दै डम्फु सेलोजस्तै अन्य समुदायले पनि कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका कार्यकारी निर्माता तथा प्रस्तोता सञ्चारकर्मी जगतमान लामा (दोङ)ले सेलो संगीतलाई विश्वव्यापी बनाउने उद्देश्यसहित प्रसारण गर्दै आएको डम्फू सेलोले आफ्नो लक्ष्य, उद्देश्य बमोजिम अघि बढिरहेको र अघि बढाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कठिन परिस्थिति गुजार्दै डम्फु सेलोले एक वर्ष पार गरेको भन्दै अब थप परिस्कृत, कार्यक्रम निरन्तरता र सेलो संगीत बचाउनका लागि सबै पक्षलाई सहयोगको आह्वान गर्नुभयो । प्रथम वार्षिकोत्सव सानो कार्यक्रम गरी मनाइए पनि आगामी वर्ष पाँचतारे होटलमा भव्य समारोह गरेर वर्षगाँठ मनाउने योजनासहित अघि बढ्ने पनि उहाँको भनाइ छ ।
१७ मे २०२४ (२०८१ जेठ ४) गतेदेखि प्रसारण आरम्भ भएको डम्फु सेलो कार्यक्रम हरेक शुक्रबार राति ८ देखि ९ बजेसम्म इन्डिजिनियस टेलिभिजन, आईटीभी नेपाल र इन्डिजिनियस टेलिभिजनको युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ । गत शुक्रबारसम्म ५३ औं इपिसोड प्रसारण भइसकेको छ ।
डम्फु सेलोको दर्शक नेपालबाहिर झन् बढी रहेको निर्माण टिमले जनाएको छ । कार्यक्रममा तामाङ फापर ह्वाई (गीत), म्हेन्दोमाया र खान्दोके सेलो पनि समेटिने गरिएको छ ।
सेलो संगीत तामाङ समुदायमा प्रचलित भनिए पनि पछिल्लो समय यो विश्वव्यापी भइसकेको छ । सेलो संगीतलाई लामो समयदेखि चलचित्र फाँटमा पनि प्रयोग गर्ने गरिएको निर्माता दोङले उल्लेख गर्नुभयो । कोभिड १९ को विश्वव्यापी प्रभावका बेलादेखि तयारी थालिएको डम्फू सेलोले बल्ल गत वर्ष सार्थकता पाएको निर्माता दोङको भनाइ छ ।






