पोखरा । राष्ट्रिय युवा परिषदद्वारा नवयुवाहरुलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित प्रदशस्तरीय युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न भएको छ । मंगलबार 'युवाका लागि अवको निकास : उद्यमशीलता, रोजगारी र सिप विकास' भन्ने मुल नाराका साथ आयोजना गरिएको सम्मेलनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।
मुख्यमन्त्री पाण्डेले युवाहरुलाई स्वदेशमै आशा, भरोसा र विश्वास जगाउन प्रदेश सरकार निरन्तर प्रयत्नशील रहेको बताए । गण्डकी प्रदेश सरकारले आगामी बजेटमा युवा उद्यमशीलता मैत्री बजेट ल्याउने दाबी गरे । पाण्डेले भने-'हामी युवालाई स्वदेशभित्रै आशा जगाउने खालको वजेट ल्याउन खोजिरहेका छौं।' मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले कृषि, पर्यटन र युवा उद्यमशीलतामा जोड दिने बताए।
गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालले गण्डकी प्रदेशको विशेषता अनुसारको उद्यममैत्री वातवरण निर्माण गर्न आफूहरु क्रियाशील रहेको बताए । मन्त्री बस्यालले युवा उद्यमीलाई साथ, सहयोग र प्रोत्साहन गर्न उद्योग मन्त्रालय तयार रहेको बताए।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तिनै तहका सरकारबाट सञ्चालित युवा लक्षित् कार्यक्रमको प्रभावकारी र नतिजामुखी कार्यान्वयनमा जोड दिए। वस्नेतले उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप, सहुलियत कर्जा, वित्तीय पहुँच अभिबृद्धि लगायतका वहुआयामिक विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको बताए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले युवा उद्यमशीलताका लागि महानगरले अलग्गै व्यवसाय प्रवर्द्धन केन्द्रको गठन गरी युवाको सीप तथा व्यावसायिक उद्यमशीलता प्रवर्द्धन गरिरहेको जनाए। मेयर आचार्यले युवाको नविन सोचलाई उद्यममा परिणत गर्न महानगरले काम गरिरहेको बताए। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रवहादुर क्षेत्रीले युवालाई केन्द्रबिन्दुमा नराखिकन् मुलुक अघि वढ्न नसक्ने जिकिर गरे। क्षेत्रीले गण्डकी प्रदेशका सम्भावना र चुनौती वारे चर्चा गर्दै युवा उद्यमशीलतामा जोड दिए ।
गण्डकी प्रदेशकी सामाजिक विकास तथा कृषि समितिकी दयमन्ती रुचालले पछाडि पारिएका महिला र दलित युवाको सशक्तिकरणमा जोड दिइन्। रुचालले युवा उद्यमशीलतामा वैङ्किङ् प्रणाली असाध्यै झन्झटिलो रहेको जिकिर गरिन्। गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले युवा उद्यमशीलताका लागि आफुले प्रदेश सभामा निरन्तर आवाज उठाएको बताए। सुवेदीले प्रदेश सरकारले युवा मैत्री नीति तथा कार्यक्रम ल्याएको दाबी गरे।
राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले निक्षेपकर्ताको पैसा नडुब्ने गरी मात्र वैंकले युवाका लागि ऋण प्रवाह गर्ने बताए। रेग्मीले युवाहरुलाई वस्तुगत ब्यवसायिक परियोजना ल्याएमा सहुलियत ऋण प्रवाह गर्न वैंक तयार रहेको बताए। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सरकार र निजी क्षेत्र मिलेर युवा लक्षित् उद्यमशीलताको माहौल सृजना गर्नुपर्ने बताए।
सम्मेलनमा विभिन्न क्षेत्रका सफल उद्यमीले आफ्ना सङ्घर्ष र सफलताका अनुभव आदानप्रदान गरेका थिए। गण्डकी प्रदेशका विभिन्न जिल्लावाट अनलाइन फर्म मार्फत् छनौट भएका नवदित युवा उद्यमी तथा सहभागीले खुल्ला छलफलमा भाग लिएका थिए। राष्ट्रिय युवा परिषदले यसअघि कोशी प्रदेशको विराटनगर र मधेस प्रदेशको जनकपुरमा प्रदेश स्तरीय युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन आयोजना गरिसकिएको प्रशासकीय प्रमुख गेहनाथ गौतमले बताए।