सिन्धुली । हरिहरपुरगढी गाउँपालिकामा एक दिने बालमैत्री स्थानीय तह घोषणा कार्यक्रम अन्तर्गत सूचक मूल्याङ्कन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष कमल कुमार राई, १ नम्बर वडा अध्यक्ष जित बहादुर थिङ, २ नम्बर वडाअध्यक्ष विश्व राई, ५ नम्बर वडा अध्यक्ष साइला लामा, कार्यापालिका सदस्य सन्तली राई लगायत गाउँपालिकाका शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी उपस्थिति रहेको थियो ।
सूचक मूल्याङ्कन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पालिकाका अध्यक्ष वाइबाले ऐतिहासिक कार्य गर्ने तयारी भइरहेकोले यहाँका समुदाय, अभिभावक ,शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायत स्वयम् बालबालिकाको पनि उल्लेख्य सहभागिता हुनुपर्ने बताउनुभयो ।
उहाँले बालबालिकालाई आफ्नो अधिकारमा सक्षम बनाउने, उनीहरूको आवाज सुन्ने र निर्णय प्रक्रियामा समावेश गराउने दायित्व हामी सबैको जिम्मेवारी रहेको बताउनुभयो ।
तोकिएका सूचकको पालना गरेर बालमैत्री स्थानीय तह घोषणा गर्नको निम्ती गाउँपालिकाले सदैव आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रम युवा समाज परिवर्तन केन्द्र दुधौली सिन्धुलीको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रममा अर्जुन प्रसाद दाहालले बालमैत्री स्थानीय तह घोषणाका लागि सूचक मूल्याङ्कनको विषयमा सहजीकरण गर्नुभएको थियो ।