काठमाडौं । तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको अध्यक्षमा राज पाख्रिन निर्वाचित हुनुभएको छ । यही २२ जुनका दिन अस्ट्रेलियाको न्यु साउथ वेल्समा भएको संस्थाको अधिवेशनबाट पाख्रिनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनबाट तीनजना उपाध्यक्षमा क्रमश: ग्यानक वाइबा, सृजना गोले र मोहन तामाङ चयन हुनुभएको छ । महासचिवमा योगेशसांगे योञ्जन, सचिवमा डोमा तामाङ, कोषाध्यक्षमा सूर्य तामाङ र सहकोषाध्यक्षमा नरेश लामा तामाङ निर्वाचित हुनुभएको छ ।
यसैगरी सांस्कृतिक सचिवमा सुनिता लामा र सांस्कृतिक सहसचिवमा लोब्साङ लामा तथा युवा संयोजकमा उमेश तामाङलाई चयन गरिएको संस्थाले जानकारी दिएको छ । कार्यसमिति सदस्यमा सुजन लोप्चन, कपिल तामाङ, छेडुप पाख्रिन, फ्युबा तामाङ र अनिता पाख्रिन निर्वाचित हुनुभएको छ ।
नयाँ कार्यसमिति चयन गर्न गठित निर्वाचन समितिमा अरुण तामाङ, टिकाराम तामाङ र किशोर लामा रहनुभएको थियो । निर्वाचित कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई निर्वाचन समिति संयोजक अरुण तामाङले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । तामाङ भाषामै शपथ गराउँदै संयोजक तामाङले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना राख्नुभएको थियो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल आगामी दुई वर्ष अर्थात् सन् २०२७ सम्म रहने छ ।
यसअघि पूर्वअध्यक्ष विशाल तामाङको सभापतित्वमा भएको उद्घाटन सत्रमा नेपाल तामाङ घेदुङका संस्थापक सदस्य हेमबहादुर तामाङ, नेप्लिज इण्डिजिनियस नेस्नालिटिज फोरम अस्ट्रेलिया (निन्फा)का वर्तमान अध्यक्ष लक्ष्मण गुरुङ, निन्फाकै पूर्वअध्यक्षद्वय सुदर्शन थापामगर र चित्रबहादुर तुम्बाहम्फे, तमु समाज सिड्नीका अध्यक्ष हिपती गुरुङ, याक्थुङ चुम्लुङ अस्ट्रेलियाका अध्यक्ष शशी सुब्बा, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष छिरिङ तेञ्जिङ लामा, अस्ट्रेलियास्थित लुक्ला टिभीका प्रमुख डा. राजु मानन्धर, एनआरएनएका क्षेत्रीय संयोजक एरसत अहमेल, जनसम्पर्क समिति अस्ट्रेलियाका सुरेश रनसिङ गुरुङलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

