काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले नुवाकोटको ककनी गाउँपालिका–१, भसीबुस्थित बिमनचा खोलामा गएको बाढीले ठूलो जनधनको क्षति गराएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद तामाङले पीडित परिवारलाई क्षतिपूर्ति, राहत र घाइतेको नि:शुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँ मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका श्रीमान्को शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
शुक्रबार बिहान करिब २:४० बजे आएको बाढीले स्थानीयहरूका गोठ, पशुधन, अन्नबाली र घरजग्गामा ठूलो क्षति पुर्याएको हो । आफ्नै गोठमा सुतिरहेकी ३२ वर्षकी कमला बलामीको बाढीले बगाउँदा मृत्यु भएको छ भने उहाँका श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते हुनुभएको छ ।
बाढीले बेपत्ता बनाएकी कमला बलामीको शव घटनास्थलदेखि केही किलोमिटर टाढा, बेलकोटगढी नगरपालिका–५, कोल्फुखोलामा शुक्रबार अपराह्न ४ बजेतिर फेला परेको हो । शवको सनाखत मृतककी दाजुले गरी पोष्टमार्टमको लागि टिचिङ अस्पताल, महाराजगञ्ज काठमाडौं पठाइएको छ ।
अशोक घटनास्थलबाट करिब १०० मिटर उत्तरतर्फ बिहानै फेला पर्नुभएको थियो । उहाँलाई उपचारका लागि काठमाडौंस्थित पिपुल्स अस्पताल बालाजुमा भर्ना गरियो ।
बाढीपछि प्रहरी, स्थानीय जनप्रतिनिधि तथा विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेको थियो । खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ भने पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने कार्य भइरहेको छ । स्थानीयहरूले राहत, आवास र खाद्यान्नको अभाव भएको गुनासो गरेका छन्।
घटनामा दर्जनौं परिवार प्रभावित भएका छन् । प्रारम्भिक विवरण अनुसार करिब २९ घरपरिवारको सवा १ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । मुख्यतः गोठ, भैंसी, बाख्रा, हाँस–कुखुरा, खेतीबाली, हाते ट्र्याक्टर लगायतका सम्पत्ति बगाएका छन् ।
पीडितहरूले तत्काल राहत, आवास व्यवस्थापन, स्वास्थ्य सेवा र क्षतिपूर्तिको व्यवस्था गरिदिन सरकार, गैरसरकारी संस्था तथा सम्बन्धित निकायलाई अपिल गरेका छन् । "घर, गोठ, पशु सबै बगायो, अब त बाँच्छौं कि मर्छौं भन्ने स्थिति आयो," एक पीडितले रुँदै भने ।
उक्त बाढीका कारण अशोक बलामीको गोठ, १ राँगा, ८ बाख्रासहित बगाइएको (अन्दाजी ८ लाख),श्यामलाल बलामीको गोठ, भैंसी, हाते ट्र्याक्टर बगाएको (४ लाख), प्रबिण बलामीको २ तल्ले पक्की घर, घरपालुवा पशु तथा अन्नबालीमा क्षति (७ लाख), रामबहादुर बलामी, रामशरण बलामी, जीवन बलामी, अर्जुन बलामी, प्रकाश बलामीलगायत २९ जना पीडितहरूका खेतबारी र पशुपालनमा ठूला क्षति पुगेका छन् ।
यसैबीच, नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङले शुक्रबार बाढीग्रस्त क्षेत्र निरीक्षण गर्नुभएको थियो । अपराह्न भसिबु पुग्नुभएका सांसद तामाङले मृतक कमलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार एवम् आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभयो । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीबाट क्षति बेहोरेका पीडितलाई राहत दिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराउनुभयो ।