लस एन्जेल्स, अमेरिका। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँगको भेटघाट कार्यक्रममा सहभागिता जनाएका छन् । कार्यक्रममा नेपालीहरूको सक्रिय उपस्थिति रहेको र विचार आदानप्रदानले सम्पन्न भएको छ ।
पछिल्लो पटक सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढंगले अघि बढाएको स्मरण गर्दै श्रेष्ठले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सम्पन्न भएको तथा पहिलो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित हिमाल–पहाड जागरण अभियानको सफल समापन पश्चात अमेरिकाको भ्रमणमा आएका बताएका छन् ।
लस एन्जेल्स आगमनपछि आयोजित ग्रिट एण्ड मिट कार्यक्रममा उनले विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापक, पत्रकार, पुराना सहपाठी तथा विद्यार्थीहरूसँग भेटघाट गरेका थिए। कार्यक्रम अवैतनिक महावाणिज्यदूत श्री ऋषि गुणाखर ढकालद्वारा आयोजना गरिएको थियो ।
कार्यक्रममा श्री पशुपतिनाथ फाउन्डेसन सं.रा.अ का अध्यक्ष बिमल श्रेष्ठ , एन.आर.एन.ए क्यालिफोर्निया च्याप्टर , नेपाल अमेरिका एकता समाजका अध्यक्ष अर्जुन पौडेल , अमेरिका नेपाल सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष लक्ष्मण नेपाल , नेपाली जन सम्पर्क समिती लस एन्जलस च्यापटरका अध्यक्ष मदन पाठक , ओभरसिज नेपाली फोरम क्यालिफोर्नियाका अध्यक्ष चिरञ्जीवी गौतम , लस एन्जलस गुरुङ्ग समाजका अध्यक्ष जोसेफ घले , नेवा: अर्गनाइजेसन अफ अमेरिका साउदर्न क्यालिफोर्नियाका अध्यक्ष कन्हैया श्रेष्ठ , मधेसी संघ नेपाल दक्षिणी क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश शाह , ग्लोबल नेपाली प्रोफेशनल नेटवर्कका जोआन पाण्डे , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष मोहन निउरे , माउंट ८८४८ का अध्यक्ष अमृत महतो , अंतर्राष्ट्रीय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना लगायतका व्यक्ति एवं संघसंस्थाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय सिटी मेयरसमेत विशेष अतिथिका रुपमा उपस्थित हुनुभएको थियो ।
श्रेष्ठले कार्यक्रममा नेपालका वर्तमान राजनीतिक परिस्थिति, समृद्धिको कार्यभार, चुनौती तथा सम्भावनाहरू, गैरआवासीय नेपाली नागरिकताको व्यवस्था, तथा विदेशी भूमिमा रहेका नेपालीहरूबाट हुने अपेक्षाका सन्दर्भमा आफ्नो धारणा प्रस्तुत गर्नुभयो। सहभागीहरूले राखेका जिज्ञासा र सुझावहरूमा उहाले समुचित जवाफ दिनुभएको थियो ।
श्रेष्ठले महावाणिज्यदूत ढकाल दम्पती, कार्यक्रम सञ्चालक रामेश्वर भण्डारी लगायत सबै सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै देखाइएको सद्भाव, प्रेम र समर्थनप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्।