घलेभन्ज्याङ । नुवाकोट विदुर नगरपालिका १ स्थित त्रिशूली नदीमा फसेका महिला/पुरुषको करिब ३ घण्टापछि उद्धार गरिएको छ ।सकुशल उद्धार गरिएकामा विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ छन् ।
मंगलबार बिहान करिब ५ बजेदेखि फसेका उनीहरुको काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकोप्टर बिहान ८:६ मा उद्धार गर्न सफल भएको हो । ती महिला, पुरुष ज्यान जोगाउन नदी बीचमा रहेको रुखमा चढेर बसेका थिए । बिहान सवा ७ बजेतिर हेलिकोप्टर आएपछि उद्धारको आएमा रुखबाट ओर्लिएर फेदमा बसेका थिए । तर, हेलिकोप्टर फन्को मारेर मात्रै फर्किएपछि उनीहरुका आफन्त र स्थानीय निराश बनेका थिए ।
नेपाली सेनाको मैथिली ब्यारेक विदुरमा अवतरणपछि पुन: पौने ८ बजेतिर हेलिकोप्टर फर्किएर उनीहरुको सकुशल उद्धार गरिएको हो । बिहान साढे ५ बजेदेखि नै जिल्लास्थित सुरक्षाकर्मी र स्थानीयले उद्धारको प्रयास गरे पनि सकेको थिएन ।
पत्रकार रामहरि न्यौपानेका अनुसार जिल्लामा विपद आइपर्दा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे र प्रहरी प्रमुख जिल्ला बाहिर थिए ।
यसैबीच नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताउनुभयो ।
हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।