हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले तामाङ पत्रकार संघ, वाग्मती प्रदेश समितिलाई अक्षयकोष स्थापनाको लागि व्यक्तिगत २ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । ३१ औ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ वाग्मती प्रदेशको आयोजनामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मुख्यमन्त्री बानियाँले ‘बुबा छेमबहादुर बानियाँ–दाजु राजकुमार बानियाँ’ को स्मृतिमा अक्षय कोष स्थापनाको लागि चेक पत्रकार संघका प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङलाई हस्तारण गर्नुभएको थियो ।
नेपाल तामाङ पत्रकार संघ, वाग्मती प्रदेश र मकवानपुर जिल्ला समितिको संयुक्त आयोजनामा ३१ औं तामाङ प्रशारण दिवसको अवसरमा ‘अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह’ सम्पन्न भएको छ ।
कार्यक्रममा तामाङ पत्रकार संघ वाग्मती प्रदेशले स्थापना गरेको ‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ र मकवानपुर जिल्ला शाखाले स्थापना गरेको ‘तामाङ पत्रकारिता पुरस्कार’ वितरण गरिएको थियो ।
मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश पुरस्कार तामाङ भाषामा २३ वर्षदेखि निरन्तर प्रकाशित तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङलाई नगद रु १० हजार १ सय रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । जिल्ला पुरस्कार हेटौंडा सन्देश डटकमका पत्रकार भुवन घलानलाई नगद रु ५ हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । ‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ कोष युवा व्यवसायी तथा पत्रकार राजेश रुम्बा लामाले आफ्नो बुबा आमाको सम्झनामा स्थापना गर्नुभएको थियो ।
कार्यक्रममा लोकतान्त्रिक गणतन्त्रमा मातृभाषा संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताउँदै मुख्यमन्त्री बानियाँले तामाङ भाषा, संस्कृति र परम्पराको संरक्षणमा प्रदेश सरकार प्रतिबद्धता जनाउनुभयो । ‘सरकारी कामकाजी भाषाका रूपमा तामाङ भाषाको प्रभावकारी कार्यान्वयनमा सञ्चारमाध्यम तथा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तान, वरिष्ठ पत्रकार प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र नेपाल तामाङ घेदुङका संघीय सदस्य मेम्बर लो तामाङ प्रमुख वक्ताका रूपमा हुनुहुन्थ्यो ।
उहाहरुले ‘सरकारी कामकाजको भाषा सम्बन्धी ऐन, २०८०’ प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले मन्त्रालयतर्फबाट भाषा ऐन कार्यान्वयनका काम तीब्र गतिमा भइरहेको जानकारी दिंदै नियमावली तयार भएको बताउनुभयो । साथै उहाँले नेपाल तामाङ घेदुङ र नेवादयः दबूको सहकार्यमा सरकारी कार्यालयका कर्मचारीका लागि भाषा प्रशिक्षण प्याकेज बनाइएको समेत जानकारी गराउनुभयो ।
पत्रकार संघ, बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभापतित्वमा भएको सो कार्यक्रमा संविधानसभा सदस्य गोविन्द्रराम चेपाङ, जिल्ला समन्वय समिति, मकवानपुरको प्रमुख ललितबहादुर घलान, तामाङ पत्रकार संघका संघीय सचिव आदर्श थोकर, नेपाल पत्रकार महासंघ, मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल तामाङ घेदुङको जिल्ला अध्यक्ष कालु घलान लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्कृति तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेशको सहकार्यमा भएको थियो ।




