घलेभन्ज्याङ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र)का युवा नेता तेजबहादुर तामाङले तीजमा महिलाहरु तडकभडकमा नलागी अधिकार खोज्न लाग्नुपर्ने बताउनुभएको छ ।
पञ्चकन्या गाउँपालिका-३ घलेभन्ज्याङमा मंगलबार आयोजित तीज विशेष साँस्कृतिक कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष तामाङले राज्यले महिलालाई अझै दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरेकोले अधिकार प्राप्तिमा लाग्नुपर्ने बताउनुभएको हो ।
'राज्यले महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्छ । महिलाले केही गर्न सक्दैनन् भन्ने दृष्टिले हेर्छन् । त्यस्तै परे महिलाहरु मनोरन्जनका साधन हुन् भन्ने ढंगले कतिपय मान्छेहरुले बुझ्छन्,' उहाँको भनाइ थियो, 'हामी आवश्यक परे सबै गर्न सक्छौं । तीजजस्ता चाडपर्वमा महिलाहरुले तडकभडकमा नलागी आफ्ना अधिकारहरु खोज्न लाग्नुपर्छ ।'
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष तामाङले तीजमा महिलाको लागिमात्रै दिइँदै आएको सार्वजनिक बिदाको विषयमा समेत असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, 'तीजको दिनमा महिलालाई मात्र बिदा दिइँदै आएको छ । अबका दिनमा त्यस्तो बिदा चाहिँदैन, पुरुषसहित सबैलाई बिदा दिनुपर्छ भन्ने माग राख्न महिलाहरुले भन्न सक्नुपर्छ । तपाईंहरु त्यसरी अधिकार खोज्नुस् । त्यसरी लाग्न सक्नुहोस् । यस अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु ।'
समाजमा विकृति भित्र्याउने भन्दा पनि संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने ढंगले कसैलाई असर नपर्ने गरी तीज पर्व मनाउनुपर्नेमा उहाँको जोड थियो । 'हाम्रा बाजे/म्हेम्हेहरुले चलाउनुभएको संस्कारलाई धान्ने हो । परम्परा जोगाउने गरी तीजलगायत पर्व मान्ने हो । आजको कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद,' उहाँले थप्नुभयो, 'सबै महिलाले तडकभडक गरेको नभइ केहीले गर्दा बिहान खाएर बेलुकी के खाने भन्ने वर्गका महिला दिदीबहिनीहरुलाई समस्या परिरहेको छ । कोहीको घरमा एक महिनादेखि तीज भित्रिने र कोहीको घरमा तीजको दिनसम्ममा पनि तीज नआउने अवस्थाले गर्दा तीजलाई मनाउने विषयमा पनि ख्याल गर्नुपर्ने छ ।'
स्वतन्त्रपूर्वक तीज मनाउन पाइए पनि समाजलाई असर पर्ने भड्किलो विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक नगर्न उहाँले आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रमकी विशेष अतिथि एवं पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष विमला केसी पाठकले समाजमा हुने अन्याय र अत्यचारको विरुद्धमा लड्न कार्यक्रम बनाउने र आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले देश र समाज परिवर्तन गर्नका लागि हातमा हात काँधमा काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
'हामी सामान्य कुरामा नअल्झिकन आफ्नो शक्ति देखाउने र धैर्यता कायम राख्दै तीज पर्व मनाउनुपर्छ, तीज पर्वमा भोकभोकै बस्न हुँदैन । आफू पहिले स्वस्थ रहने र त्यसो भएमा सबै चिज गर्न सकिन्छ,'उहाँको भनाइ थियव ।
उहाँले नेपाली महिला दिदीबहिनीहरुलाई समाजमा केही गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने तीज पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमा गायक रामहरि भण्डारी, गायिका माया मगर, दिपा खनाल, अर्जुन तामाङ, आशीष खनाल, दीपक खनाललगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुले लोक तथा दोहोरी गीत प्रस्तुत गरिरहनुभएको छ ।