काठमाडौँ । ३० औं चलचित्र प्रदर्शन दिवसको अवसरमा पत्रकार हिरोज लोप्चन सम्मानित हुनुभएको छ ।
तामाङ चलचित्र संघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकार लोप्चनलाई 'टीएफआर सम्मान-२०८२' प्रदान गरिएको हो । लोप्चन २०७८ माघ १२ गते धर्म टेलिभिजनमा कार्यक्रम प्रस्तोता भएर सञ्चार क्षेत्रमा प्रवेश गर्नुभएको हो । समुदायका मुद्दादेखि कला, राजनीतिक बहस र सामाजिक सरोकारका विषयलाई उजागर गर्दै पत्रकार लोप्चन छोटो समयमै चर्चामा आउनुभएको छ ।
टुरिजम मिडिया नेटवर्कमा कन्टेन्ट क्रिएटर र भिडियो सम्पादक हुँदै आफ्नो कर्ममा निरन्तरता दिइरहनुभएका उहाँ युनिभर्सल टेलिभिजनमा को–अर्डिनेटर रहँदा संस्थागत सञ्चार र कार्यक्रम व्यवस्थापनमा सक्रिय हुनुभयो । हाल खुल्लापत्र डटकम सञ्चार संस्थाका अध्यक्ष रहनुभएका उहाँ विशेषगरी तामाङ समुदायको मुद्दा, सामाजिक न्याय, सूचना–साक्षरता र कलाकार, तामाङ चलचित्र उद्योग,चलचित्रकर्मीको अधिकारबारे बहस कार्यक्रम चलाउँदै आउनुभएको छ ।
त्यस्तै, तामाङ चलचित्र संघको सञ्चार विभाग सम्हालिसक्नुभएका लोप्चनले तामाङ पत्रकार संघ काठमाडौं जिल्ला शाखामा नेतृत्व प्रदान गरिरहनुभएको छ ।
कार्यक्रममा लोप्चनसहित २२ विधामा टीएफआर सम्मान प्रदान गरिएको थियो । वि.सं. २०५२ सालमा पहिलोपटक तामाङ चलचित्र प्रदर्शन दिवस मनाइएको थियो । सुरुवाती वर्षहरूमा यस दिवसले स्थानीयस्तरमा मात्रै चर्चा पाए पनि क्रमशः राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा फैलिँदै गएको आयोजकको भनाइ छ ।
यस वर्ष सम्मानित विधा र व्यक्तित्व
पत्रकारिता हिरोज लोप्चन, निर्माता कोपिला लामा,निर्देशक हुत्त सञ्जय लामा, नायक जय स्याङ्तान, नायिका संगीता लामा,अभिनेता राजकुमार स्याङ्तान,अभिनेत्री माया देवी मोक्तान, गायक सौगात मोक्तान, गायिका लक्ष्मी स्याङ्तान, गीतकार कुमार स्याङ्बा, संगीतकार उत्तर लामा, हास्य कलाकार गोर्खा घिसिङ,खलनायक विकाश स्याङ्तान, छायांकन प्रकाश तामाङ,सम्पादन रोशन फ्युबा तामाङ,नृत्य निर्देशक बुद्ध लामा, द्वन्द्व निर्देशक शंकर महर्जन, सामाजिक अभियन्ता फुर्वा दोर्जे मोक्तान, सक्रिय कार्यसमिति सदस्य मनिका सिङ्तान, प्रोडक्सन हाउस/ब्यानर जिम्बा फिल्म्स प्रोडक्सन सम्मानित भए ।
विनयक लोप्चनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कुन्साङ लामाले तामाङ चलचित्र केवल मनोरञ्जन मात्र नभइ हाम्रो संस्कृति, भाषा र पहिचानलाई बचाउने आन्दोलन भएको भन्दै ३० वर्षको यात्राले त्यो प्रमाणित गरेको बताउनुभयो ।
त्यस्तै,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ चलचित्रलाई राष्ट्रिय चलचित्र उद्योगको अविभाज्य हिस्सा भएको बताउनुभयो । उहाँले थप्नुभयो, 'तामाङ चलचित्रले नेपाली चलचित्रलाई विविधता दिएको छ। यसलाई अझ प्राविधिक र बजारमैत्री बनाउन आवश्यक सहयोग सरकारले पनि गर्नेछ।'
संरक्षक डीबी मोक्तानले यस दिवस समुदायको एकता र सहकार्यको प्रतिविम्ब भएको बताउनुभयो ।
त्यस्तै, नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले नयाँ पुस्ताका कलाकारलाई अवसर दिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा विश्व दोङ, लक्ष्मी स्याङ्तान, काजल तामाङ, संगीता दोङलगायत कलाकारले सांगीतिक र नाट्यमञ्च प्रस्तुति दिनुभयो ।
कार्यक्रममा झाँकी ताम्बाले अतिथिलाई स्वागत गरिएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाको व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।