काठमाडौं । नेपाली गीत सङ्गीत क्षेत्रका धरोहर लोकगायिका इन्दिरा गोले तामाङ (गुरुङ)को निधन भएको छ ।
गायिका गोले विगत केही वर्षदेखि क्यान्सर रोगको उपचार गराउँदै आइरहनु भएको थियो । उहाँको आज निधन भएको परिवारले जनाएको छ ।
लोकगायिका गोलेको ललितपुरको भारदेउ गाविस–८, बेल्डाँडा लेलेका जीतबहादुर गोले र प्रेममाया लोप्चनको परिवारमा २०२३ कात्तिक ३ गते जन्म भएको थियो । उहाँले रेडियो नेपालमा ‘हातमा हसियाँ कम्बरमा खुर्पेटो’ (२०४५) गीत गाएर लोकगीत गायनको यात्रा सुरु गर्नुभएको थियो ।
गायिका इन्दिरा गोलेले चाँगु नारायणु,पेमास्याु (२०५८), तामाङ व्हाई, हाम्रो डम्फु सेलो, होइसेरु, सफा टेम्पुरी, नाच्यो माइच्याई तिमी डम्फुको तालैमा लगायतका दर्जनौं तामाङ गीति एल्बममा आफ्ना स्वर आवाज दिनुभएको छ ।
सेलोका साथै नेपाली लोक आधुनिक गायनमा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो । उहाँले देशभित्र मात्र होइन विभिन्न देशमा पनि धेरै स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिइसक्नुभएको छ । उहाँलाई ‘सुलभ तामाङ सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार २०११’ लगायतका कैयौं मानसम्मान र पुरस्कार प्राप्त गर्नुभएको थियो ।
साथै उहाँ नेपाल तामाङ कलाकार सङ्घका अध्यक्ष (२०७२–२०७६) रहेर सङ्घको उत्थान र विस्तारमा महत्वपूर्ण भूमिका प्रदान गर्नुभएको थियो । स्व. गायिका गोलेका धेरै गीतहरू सदावहार छन् । उहाँ दर्शकले उत्तिकै मनपराउने गायिकामा पर्नुहुन्थ्यो । उहाँले तामाङ समुदायको भाषा, संस्कार, संस्कृति संरक्षणको निम्ति धेरै सन्देशमूलक गीतहरू गाउनुभएको तामाङ स्रष्टाहरु सम्झन्छन् ।