काठमाडौं । नेपाल तामाङ कलाकार संघको आयोजनामा स्व वरिष्ठ गायिका इन्दिरा गोलेको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
भदौ २१ गते शनिबार नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटी बौद्धमा इन्दिरा गोलेको श्रद्धाञ्जलीसभा भएको हो । श्रध्दाञ्जलीसभामा संगीतप्रेमी, परिवारका सदस्य, आफन्त, पत्रकारलगायतको उपस्थिति थियो । सहभागीले इन्दिराको तस्बिरमा खादा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरे ।
तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरु अगुवाहरुले इन्दिरा गोलेले सांगीतिक क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए । वरिष्ठ गायिका गोले तामाङ कलाकार संघको पूर्वअध्यक्ष हुनुहुन्थ्यो ।
कार्यक्रममा वरिष्ठ कलाकारहरु चन्द्रकुमार मोक्तान,वरिष्ठ संगीतकार तथा गायक प्रदीप बम्जन,सेलो गायक प्रेम लोप्चन, रोज मोक्तान, विश्व दोङ, सन्जीव वाइबा, गायिकाहरु जमुना योञ्जन, तुलसा वाइबा, इन्दिरा योञ्जनलगायत उपस्थित हुनुहुन्थ्यो ।
नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले,नेता जय गोलेलगायत नेता तथा बुद्धिजीवी र समाजसेवीसमेत सहभागी हुनुहुन्थ्यो ।

वरिष्ठ गायिका गोलेको भदौ १७ गते ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा ५९ वर्षको उमेरमा निधन भएको थियो । उहाँको पार्थिव शरीर १८ भदौमा बौद्ध संस्कारअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको थियो । गायिका गोलेको क्यान्सरका कारण निधन भएको हो ।
रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि उहाँले चर्चित नेपाली लोकदोहोरी गीतहरू पनि गाउनु भएको छ । नेपाली लोक, आधुनिक र तामाङ गीतमा आफ्नो विशिष्ट पहिचान बनाउनुभएकी गोलेको जन्म २०३३ कात्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ५ भारदेउमा भएको थियो । उहाँले तामाङ सेलो र अन्य लोकगीतहरूमार्फत तामाङ संस्कृतिको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।
२०४५ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास भएपश्चात् उहाँले गाउनुभएको गीतहरू चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेलालगायत सदाबहार छन् । उहाँले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिनुभएको थियो ।


