काठमाडौं । सहकारी ठगी मुद्दामा पार्टी सभापति रवि लामिछाने कारागारमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी छाडनुभएको छ ।
उहाँले पार्टी छाडेको बारे जानकारी आइतबार रास्वपालाई गराउनुभएको हो । श्रेष्ठ रास्वपाबाट प्रतिनिधिसभा सांसद हुनुहुन्थ्यो । यसअघि असन्तुष्ट बन्दै पार्टीको सहमहामन्त्रीबाट समेत उहाँले राजीनामा दिनुभएको थियो ।
पार्टी परित्यागबारे सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेतृत्वले गल्ती स्विकार नगर्ने,गल्तीहरुको बोझ अरुले बोक्नुपर्ने, आलोचना गर्नेहरुका विरुद्ध मिडिया ट्रायल गर्नेलगायत कमजोरी औंल्याउनुभएको छ ।
‘कहिलै गल्ती नस्विकार्ने! गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने! पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होल । आइ क्विट, मैले पार्टी छोडेँ,’ उहाँले भन्नुभएको छ । उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत दलका तेस्रो पुस्ताका नेताहरूलाई पनि सोच्न आग्रह गर्नुभएको छ ।
सुमनाको भनाइजस्तै पार्टी नेतृत्वको आलोचना गरेकोभन्दै तत्कालीन महासचिव मुकुल ढकाल पनि कारबाहीमा पर्नुभएको थियो । ढकाललाई पहिले रास्वपाले स्पष्टिकरण सोधिसकेपछि निलम्बन गरेको थियो भने पछि कारबाही गरेको थियो ।
उकाँलाई "पार्टी अनुशासनविपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले" कारबाही गरिएको थियो ।
रास्वपा छाड्नेमा केन्द्रीय पदाधिकारी, नेतादेखि जिल्ला प्रमुख र कार्यकर्ताहरु पनि छन् ।
यी हुन् विभिन्न मितिमा रास्वपा छाड्ने नेता, कार्यकर्ताहरु
- पूर्वडिआइजी रमेश खरेल (२०८० चैत १४)
- रास्वपा कोशी प्रदेशका निवर्तनमान इन्चार्ज तथा केन्द्रीय संगठन विभाग सदस्य ओमनाथ भण्डारी (२०८२ वैशाख ४)
- रास्वपाका प्रचारप्रसार विभाग प्रमुख तथा खोटाङ–काठमाडौं सम्पर्क विभागका सदस्य सन्तोषकुमार दाहाल (२०८१ साउन २८)
- रास्वपाका मकवानपुरका संस्थापक अध्यक्ष राजकुमार न्यौपाने (२०८० माघ १२)
- रास्वपाकञ्चनपुरका संस्थापक तथा जिल्ला सभापति पदम विष्ट (२०८२ भदौ २७)
- रास्वपा दाङका ६५ जनाभन्दा बढी युवाहरुले पार्टी परित्याग
- रास्वपा बर्दियका २१ जना युवाले छाडे पार्टी (२०८१ माघ १ )
- रास्वपा सप्तरी जिल्ला अध्यक्ष ई. प्रमोद साह ‘राणा’
- रास्वपाका प्युठान संयोजक सुमन सुवेदी (२०८१ असार १२)
- रास्वपा चितवनका सभापति धर्मेन्द्र सापकोटा (२०७९ माघ १८)