काठमाडौं । देशमा व्याप्त भ्रष्टाचार र केपी ओली नेतृत्वको सरकारले गरेको सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको जेन्जी आन्दोलनका क्रममा तामाङ समुदायका तीन जनाले ज्यान गुमाएका छन् ।
जेनजीले गत भदौ २३ मा काठमाडौंलगायत देशका विभिन्न जिल्लामा गरेको आन्दोलनका क्रममा मकवानपुरका ४१ वर्षीय बुद्धिबहादुर तामाङ, काभ्रेपलाञ्चोकका ४२ वर्षीय दिलनारायण तामाङ र चितवनका ४३ वर्षीय विजय तामाङको मृत्यु भएको हो ।
आन्दोलनको अग्रपङ्तीमा रहँदा गोली लागेर भदौ २३ मै मारिनुभएको थियो बुद्धिबहादुर तामाङ । टिस्टुङ पालुङका उहाँका आमा, बुबा, श्रीमती, १४ र १७ वर्षका छोराहरु छन् । बौद्धमा क्याफे सञ्चालन गर्दै आउनुभएका उहाँ कुनै राजनीतिक दलमा आबद्ध नभएको पारिवारिक स्रोतले जनाएको छ ।
यस्तै काभ्रे तिमालका दिलनारायण तामाङको पनि २३ भदौ सोमबारकै दिन ज्यान गएको हो । छातीमा गोली लागेर घाइते भएका दिलनारायणको नागरिक अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको चिकित्सकले जनाएका छन् । दिलनारायण घर बनाउने काम (लेबर) काम गर्नुहुन्थ्यो ।
चितवन भरतपुर महानगरपालिका-१० स्थायी घर भई हाल पोखरा-१६ मा मजदुरी गरी बस्ने विजयको भने २८ भदौमा मृत्यु भएको हो । २४ भदौमा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका विजय तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार आगो लगाउने क्रममा आफैँ जलेर घाइते भएका तामाङलाई उनकै साथीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए ।
भदौ २३ र २४ को जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागी, आजगनी परी अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । सयौं घाइते अस्पतालमा उपचारमा छन् ।
आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रहरी कार्यालय, निजी व्यापारिक भवन, नेताहरुका निजी आवासलगायत थुप्रै संरचनामा आगलागी र तोडफोड भएका छन् ।