सिन्धुली । हरिहरपुरगढी गाउँपालिकामा डम्फु बनाउने २० दिने तालिम आज सम्पन्न भएको छ । तालिममा स्थानीय तामाङ समुदायका २० जना सहभागी हुनुहुन्थ्यो ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य, गाउँपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाका अध्यक्ष कमलकुमार राई, १ नम्बर वडाका अध्यक्ष जितबहादुर थिङ, २ नम्बर वडाका अध्यक्ष विश्व राई, ५ नम्बर वडाका अध्यक्ष साईला लामा, ६ नम्बर वडाका अध्यक्ष एकबहादुर मोक्तान, ७ नम्बर वडाका अध्यक्ष बिच बहादुर मोक्तान, ८ नम्बर वडाका अध्यक्ष धनबहादुर मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष वाइबाले तामाङ समुदायको सांस्कृतिक एवं परम्परागत बाजा डम्फुको संरक्षणसँगै उक्त बाजा बनाउने सीप विकासमा तालिम उपयोगी भएको बताउनुभयो ।
संस्कृति हाम्रो अमूल्य पहिचान उल्लेख गर्नुहुँदै तामाङ मात्रै नभई गाउँपालिका भित्र रहेका सम्पूर्ण जातजतिहरूको संस्कार जगेर्ना गर्नको लागि गाउँपालिकाले विभिन्न कार्यक्रम गरिने बताउनुभयो ।
उहाँले तालिममा सहभागीहरूले डम्फु बनाएर बिक्री गरी आयआर्जन गर्नसक्ने बताउनुभयो । डम्फुको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको वार्षिक कार्यक्रमअनुसार सीप विकास तालिमको आयोजना गरिएको हो । प्रमुख ध्रुव प्रसाद ढकालले सहभागीहरूले उत्साहपूर्वक सीप सिकेको भन्दै खुसी व्यक्त गर्नुभयो । वर्षभरिमा विभिन्न सीपमूलक तालिम सिकाइने र युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँमा तालिम प्रदान गरिँदै आएको जानकारी गराउनुभयो ।
सोही कार्यक्रमअन्तर्गत तामाङ समुदायको बाहुल्यता रहेको सो ठाउँमा मागअनुसार संस्कृतिको जगेर्नासँगै स्वआर्जनमा सहयोग गर्ने उद्देश्यले डम्फु बनाउने तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँले तालिममा सहभागीहरूलाई सिकेको सीप उपयोग गर्नसमेत आग्रह गर्नुभयो ।
तालिममा लिलाबहादुर स्याङ्तानले प्रशिक्षकको भूमिका निभाउनुभएको थियो । उहाँले सांस्कृतिक एवं परम्परागत बाजाको संरक्षणमा गरिएको यो पहल प्रशंसानीय भएको बताउनुभयो । डम्फु बनाउने परम्परागत सीप युवाहरूलाई सिकाउन पाउँदा आफूलाई खुसी लागेको प्रशिक्षक स्याङ्तानले बताउनुभयो ।
गत भदौ १९ गते उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि एवं अध्यक्ष वाइबाले तालिमको उद्घाटन गर्नुभएको थियो ।
तस्विरहरु




