ओलीको गल्तीको कारणले एमालेलाई अहिले जनताको बीचमा जानलाई गाह्रो भइरहेकोले निर्वाचनको विरोध गरिराखेको छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले अहिले मुलुक विषय परिस्थितिबाट गुज्रिराखेको बताउनुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संसद् पुनर्स्थापना कि निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ६ महिनाभित्र निर्वाचन गर्ने भनेर मिति तोकिएर बनेको अन्तरिम सरकारले निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताउनुभएको हो ।
सामाजिक सञ्जालको निर्बाध सञ्चालन र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पवित्र उद्देश्य राखेर जेन–जीहरुले आन्दोलन गरेको उहाँले बताउनुभयो । उनीहरुको मागलाई सरकारले नजरअन्दाज गरेको कारण विध्वंश गरेको बताउनुभयो । जेन–जी आन्दोलन छोटो समयमा भए पनि यसको उपलब्धि खासै नरहेको उहाँले बताउनुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनेभन्दा अर्को उपलब्धि जेन–जी आन्दोलनबाट लिन नसकिएको उहाँको भनाइ छ । ‘आन्दोलन छोटो समयको बीचमा भयो । त्यसले ठूलो धनराशी र जनशक्तिमा क्षति पुर्यायो । तर, उपलब्धि के भयो भन्ने हिसाबले हेर्ने हो भने उपलब्धि पनि खासै भएको देखिँदैन । प्रधानमन्त्री केपी ओली भएको ठाउँमा अहिले सुशीला कार्कीजी आउनुभएको छ । पुराना मन्त्रीहरु हटेका छन्, केही मन्त्रीहरु आउनुभएको छ । २०८४ सालमा गर्ने भनिएको आमनिर्वाचनलाई २०८२ सालको फागुन २१ गते नै गर्ने भनिएको छ । त्यो भन्दा राजनीतिक हिसाबले केही पनि परिवर्तन भएको छैन,’ उहाँले भन्नुभयो ।
साथै, नेता तामाङले अब माओवादी केन्द्रले निर्वाचनको विकल्प नदेखेको पनि बताउनुभयो । तर, सरकारले चुनाव निष्पक्ष हुने, नागरिकहरुले स्वतन्त्र ढंगले निर्वाचनमा भाग लिन पाउने र निर्वाचन शान्तिपूर्ण हुने कुरा नागरिक समाज र राजनीतिक दललाई विश्वास दिलाउन सक्नुपर्ने बताउनुभयो । अहिलेको अवस्थामा चुनावको लागि विश्वस्त वातावरण बनिनसकेको उहाँको भनाइ छ ।
‘चुनावको निमित्त राजनीतिक दल र नागरिक समाजलाई विश्वस्त तुल्याउनुपर्छ । चुनाव निष्पक्ष हुन्छ, स्वतन्त्र ढंगले नागरिकहरुले निर्वाचनमा भाग लिन पाउँछन् र निर्वाचन शान्तिपूर्ण ढंगले हुन्छ भन्ने कुरा राज्यको संयन्त्रलाई पनि त्यो विश्वास हुनुपर्यो । राजनीतिक दल, नागरिक समाज र अहिलेको नयाँ सन्दर्भमा जेन–जीलाई पनि त्यो लाग्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘चुनावको विकल्प त छैन, किनभने संसद् विघटन गरिसकिएको छ । संसद् नभएपछि तोकिएको मितिभित्र निर्वाचन नगरीकन हुँदैन । त्यसको निमित्त हामी जुनसुकै परिस्थितिको सामना गरेर, राज्यलाई जुनसुकै सहयोग गर्नुपर्छ भने पनि गरेर निर्वाचनमा जानुपर्छ भनेर माओवादी केन्द्रले भनिराखेको छ । तर, विश्वस्त वातावरण निर्माण हुन सकेको छैन ।’
जेन–जीहरुले प्रश्न उठाइरहेका मान्छेहरुलाई कारबाहीको दायरामा नल्याइएको, अनुसन्धान पनि नभएको, सुरक्षाकर्मीहरुको हतियार खोसिएको, भागेका कैदीबन्दीलाई नियन्त्रणमा नलिइएको अवस्थामा निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय पैदा भएको उहाँले बताउनुभयो । जेन–जीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी भनिराखेको र उक्त कुरा माओवादीले २० वर्ष पहिलादेखि भन्दै आएको पनि नेता तामाङले उल्लेख गर्नुभयो । संसद्बाटै यो कुरालाई संवैधानिक हिसाबले हल गरेर संसद् भंग गर्नुपर्नेमा जेन–जीहरुको आन्दोलन हाइज्याक भएर हतारमा संसद् विघटन गरिएको उहाँले बताउनुभयो ।
नेता तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको निमित्त गोलमेच सम्मेलन गरेर संसद् ब्युँत्याएर त्यसपछि संविधान संशोधन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले त्यसको निमित्त माओवादी केन्द्र तयार रहेको बताउनुभयो । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निमित्त संवैधानिक संवैधानिक व्यवस्था गरेर बरु तुरुन्तै संसद् विघटन गर्ने एजेण्डाको सुनिश्चिततासहित गोलमेच सम्मेलनको आयोजना गर्ने हो भने त्यो राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ।
नेता तामाङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण जेन–जी आन्दोलन भएको,७६ जनाले ज्यान गुमाएको र खर्बौंको क्षति भएको बताउनुभयो । त्यही गल्तीको कारणले एमालेलाई अहिले जनताकोबीचमा जानलाई गाह्रो भइरहेको अवस्थामा निर्वाचनको विरोध गरिराखेको पनि उहाँले बताउनुभयो । नेपाली कांग्रेसले पनि ओली नेतृत्वको सरकारमा गएर गल्ती गरेको उहाँले बताउनुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार रहिरहेको खण्डमा आरजु देउवा पनि थुनिने स्थिति आएपछि कांग्रेसले एमाले अध्यक्ष ओलीलाई साथ दिएर सरकार गठन गरेको उहाँको आरोप छ ।
भदौ २३ गतेको जेन–जी आन्दोलनमा २३ जना अवोध विद्यार्थीको हत्या भइसकेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर ठूला गल्ती गरेको उहाँले बताउनुभयो । यदि २३ गते कांग्रेसले समर्थन फिर्ता लिएको भए सबैभन्दा ठूला दल कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना हुनेमा केपी ओलीको ब्ल्याकमेलिङमा परेर शेरबहादुर देउवाले प्रधानमन्त्री हुने मौका गुमाएको उहाँले बताउनुभयो ।
‘यदि प्रचण्ड नेतृत्वको सरकारलाई यथावत राख्ने हो भने आरजु देउवा पनि थुनिने भयो र अरु–अरु नेताहरु पनि थुनिने भयो । त्यसकारण उहाँहरुलाई थुन्न दिने हो कि मेरो नेतृत्वको सरकारलाई समर्थन गर्ने हो भनेर उहाँहरुले ब्ल्याकमेलिङ गर्नुभयो । त्यो ब्ल्याकमेलिङको कारणले गर्दा उहाँहरु सरकारमा जानुभयो । जब २३ गते १९ जना विद्यार्थीहरुको ज्यान गइसकेपछि उहाँहरुले सरकारलाई दिएको समर्थनमात्रै फिर्ता गर्नुभएको भए शेरबहादुर देउवाजीको त्यो हालत हुँदैन थियो,’– उहाँले भन्नुभयो ।