काठमाडौं । नेपाल तामाङ घेदुङका महासचिव तथा सञ्चारकर्मी जगतमान लामा दोङले नेपाल तामाङ घेदुङलाई नै बायस्ट गरेर तामाङ कलाकारहरु अघि बढ्न खोज्नु गलत हुने बताउनुभएको छ ।
तामाङ कलाकार संघको १८ औं महाधिवेशन तथा ९ औं अधिवेशनलाई शनिबार सम्बोधन गर्नुहुँदै महासचिव दोङले तामाङ घेदुङलाई कमजोर पार्दा तामाङ समुदाय, तामाङ आन्दोलन नै कमजोर हुन जाने बताउनुभयो । घेदुङका महासचिव नभई आयोजकले वरिष्ठ पत्रकारको हैसियतमा सम्बोधन गर्न मञ्चमा डाकेपछि दोङले घेदुङलाई कमजोर पार्ने काममा नलाग्न तामाङ कलाकारहरुलाई सचेत गराउनुभयो ।
'आफ्नो समुदायलाई नबिर्सिदिनुस् । तामाङ घेदुङप्रति असहमति हुन सक्छन् । जगत दोङप्रति असहमति हुन सक्छन् । संस्थाप्रति असहमति गुनासो छ भने व्यक्त गर्न सक्नुहुन्छ, तर नेपाल तामाङ घेदुङलाई नै बायस्ट गरेर । केही पनि होइन भनेर कलाकारहरुले बुझ्ने हो भने गलत हुन सक्छ,'उहाँको भनाइ थियो, 'नेपाल तामाङ घेदुङलाई कमजोर पार्नु भनेको सिंगो तामाङ समुदायलाई कमजोर पार्नु हो । नेपाल तामाङ घेदुङलाई कमजोर पार्नु भनेको तामाङ आन्दोलनलाई कमजोर पार्नु हो । त्यो कुरा तामाङ कलाकार साथीहरुले बुझ्नुपर्छ । बुझ्नुहुन्छ भन्ने मलाई दृढ विश्वास छ ।'
महासचिव दोङले तामाङ घेदुङ स्थापनापछि सबभन्दा बढी फाइदा कलाकारलाई नै पुगेको उल्लेख गर्नुभयो । 'तामाङ घेदुङ खुलेर सबभन्दा बढी कलाकारलाई फाइदा पुगेको छ ।अहिले झन्डै ३६/३७ वटा देशमा तामाङ घेदुङसँग आबद्ध संघ संगठनहरुमार्फत तपाईं (कलाकार) हरु विदेश पुग्नुहुन्छ । जानुस् । त्यसमा केही आपत्ति छैन,' उहाँको भनाइ थियो ।
उहाँले तामाङ घेदुङ १० औं महाधिवेशनको संघारमा रहेको जानकारी गराउँदै नयाँ टिममा जगत दोङ नभए पनि तामाङ कलाकार संघले सहकार्य गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
तामाङ समाजलाई कसरी अगाडि बढ्नु पर्छ र तामाङ समाज कस्तो निर्माण गर्नुपर्छ भन्ने जिम्मेवारी तामाङ कलाकारमा रहेकोले त्यसतर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो । 'मन पर्यो भन्दैमा तामाङ कलाकारहरुले अधिकारीलगायत जातसँग बिहे गर्ने, संगीतको जात हुँदैन भन्दै अन्य संस्कृति भित्र्याउने गर्नुभयो भने समाज कहाँ पुग्छ ?,' उहाँको प्रश्न थियो । तर तामाङ कलाकार व्यावसायिक बन्नु हुँदैन भन्ने आफ्नो धारणा नरहेको प्रस्ट पार्नुभयो ।
उहाँले अधिवेशनबाट आउने नयाँ कार्यसमितिले तामाङ समाजको हितमा भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो । 'अधिवेशन पद लिनेभन्दा पनि तामाङ समाजलाई कसरी अगाडि बढ्नु पर्छ । आगामी दिनमा तामाङ समाज कस्तो निर्माण गर्नुपर्छ भन्नेमा गीत, संगीतमा सम्बोधन हुनुपर्छ । यस विषयमा तपाईंहरु योग्य हुनुहुन्छ । यसमा नयाँ निर्वाचित हुने नेतृत्व भूमिका खेल्नुहुनेछ भन्ने मेरो विश्वास छ ।'